काठमाण्डाै – एटीएम मेशिन ह्याक गरेर पैसा निकाल्न खोज्ने एक चिनियाँ नागरिक काठमाण्डौबाट पक्राउ परेका छन् ।
विभिन्न बैंकको एटीएम बुथमा अस्वाभाविक रूपमा कुनै व्यक्तिले रकम निकाल्न लागेको भन्ने विशेष सूचनाका आधारमा दरबारमार्गबाट खटिएको प्रहरी टोलीले ठमेलबाट चिनियाँ नागरिक वाङ सिआलोङलाई पक्राउ गरेको हो । प्रहरी पुग्दा उनले एटीएम मेसिनको कि बोर्डको पिन नम्बर ह्याक गरेर पैसा निकाल्दै गरेका थिए ।
प्रहरीले वाङ बस्ने ठमेलकै एक होटलको कोठाबाट एटीएम र विद्युतीय भुक्तानीका माध्यमबाट ह्याक गरेर पैसा निकाल्ने कैयौँ उपकरण पनि बरामद गरेको छ ।
उनलाई पक्राउ गर्न नसकेको भए कैयौँ एटीएमबाट करोडौँ रुपैयाँ लुटिने सम्भावना रहेको तर अब त्यो खतरा टरेको महानगरीय प्रहरी परिसर टेकुले जनाएको छ ।