सोलुखुम्बु । नेचासल्यान गाउँपालिकामा वडा नम्बर २ सल्यानमा ३ दिने आधारभूत च्याउ खेती तालिम सम्पन्न भएको छ । छिमेक लघुवित्त वित्तीय संस्था लिमिटेड शाखा कार्यालय सल्लेरीले मङ्सिर ४ गतेदेखि आयोजना गरेको तालिम आज सम्पन्न भएको हो ।
छिमेक लघुवित्त वित्तीय संस्था लिमिटेड शाखा कार्यालय सल्लेरी अन्तर्गत नेचासल्यान गाउँपालिका वडा नम्बर १ र २ का ३१ जना महिला सदस्यहरूलाई तालिम प्रदान गरिएको कार्यक्रम संयोजक प्रेम बहादुर थोकर तामाङले जानकारी दिनुभयो ।
दुधकोशी बहुमुखी क्याम्पस दोदि सल्यानमा सञ्चालित ३ दिने तालिममा सहभागी निसान श्रेष्ठले प्रशिक्षण गराउनुभएको थियो । तालिममा च्याउ खेतीको उपयोगिताका कुराहरू सिकाउनका साथै अभ्यास मार्फत सम्पूर्ण विधिहरूको विषयमा प्रशिक्षण गरिएको प्रशिक्षक निसान श्रेष्ठले बताउनुभयो ।
महिला सदस्यहरूको आय स्तर उकास्ने उद्देश्यले तालिमको आयोजना गरिएको छिमेक लघुवित्त वित्तीय संस्था लिमिटेड शाखा कार्यालय सल्लेरीका शाखा प्रबन्धक एवं कार्यक्रम संयोजक प्रेम बहादुर थोकर तामाङले जानकारी दिनुभयो ।
तालिममा सहभागी महिलाहरूले तालिम निकै उपयोगी र फाइदाजनक रहेको प्रतिक्रिया दिँदै च्याउ खेती मार्फत मनग्ये आम्दानी लिन सकिने बताएका छन् । तालिम पश्चात् च्याउ खेती गरी जीविकोपार्जन गर्ने समेत सहभागीहरूको भनाइ छ ।