सोलुखुम्बु । सगरमाथा राष्ट्रिय निकुञ्जको कार्यालय नाम्चेले चालु आर्थिक वर्षको ११ महिनाको अवधिमा १४ करोड बढी राजश्व सङ्कलन गरेको छ । चालु आर्थिक वर्ष २०८१/०८२ को साउन महिनादेखि ज्येष्ठ २७ गतेसम्म १४ करोड ४६ लाख ९४ हजार सात सय ११ रुपैयाँ राजश्व सङ्कलन गरेको हो ।
सगरमाथा क्षेत्र भ्रमणमा आउने पर्यटकहरूको आगमन दस्तुरसँगै अन्य विविध शीर्षकमा उक्त राजश्व सङ्कलन भएको सगरमाथा राष्ट्रिय निकुञ्ज नाम्चेका प्रमुख एवं संरक्षण अधिकृत शुष्मा राणाले जानकारी दिनुभयो ।
सार्क राष्ट्र, विदेशी र आन्तरिक गरी यस वर्ष हालसम्म ५८ हजार सात सय ८७ जनाले सगरमाथा क्षेत्रको भ्रमण गरेको निकुञ्जको तथ्याङ्कमा उल्लेख छ । जसमा विदेशी ४४ हजार ६ सय १८ जना, सार्क राष्ट्रका ६ हजार एक सय ७८ जना र नेपाली सात हजार नौ सय ९१ जनाले भ्रमण गरेका छन । निकुञ्जको तथ्यांक अनुसार सबैभन्दा बढि हालसम्म ४४ हजार ६ सय १८ जना विदेशी पर्यटकहरुले सगरमाथा क्षेत्र भ्रमण गरेका छन ।
गत आर्थिक वर्ष २०८०/०८१ मा ५६ हजार पाँच सय २२ जना पर्यटकले सगरमाथा क्षेत्रको भ्रमण गर्दा १५ करोड ४७ लाख ६० हजार पाँच सय ६६ रुपैयाँ २० पैसा राजश्व सङ्कलन भएको निकुञ्जले जनाएको छ । जसमा ४४ हजार चार सय १३ जना, सार्क राष्ट्रका ६ हजार चार सय ६९ जना र ६ हजार आठ सय आठ जना नेपालीले सगरमाथा क्षेत्रको भ्रमण गरेका थिए ।