काठमाण्डौ – प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालको संविधान सबैको भावनालाई अटाउने संविधान रहेको बताउनुभएको छ ।
संविधान दिवसका अवसरमा काठमाण्डौको सैनिक मञ्च टुँडिखेलमा भएको कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले संविधानले कसैलाई विभेद नगरेको बताउनुभएको छ ।
प्रधानमन्त्री ओलीले कोरोना नियन्त्रण तथा रोकथाममा सरकारले गरेका कामहरुलाई समीक्षा गर्दा उत्साहजनक रहेको दाबी गर्नुभयो ।
अहिले देशभित्र सरकारी ३३ र निजी १४ गरी ४७ पीसीआर परीक्षण प्रयोगशालाहरु सञ्चालनमा रहेको र परीक्षणको दैनिक क्षमता २३ हजार ५ सयभन्दा धेरै रहेको समेत उहाँले बताउनुभयो ।
उहाँले महामारीको जोखिम कम हुनासाथ अर्थतन्त्र पुरानै लयमा फर्किने र ‘समृद्ध नेपाल, सुखी नेपालीको राष्ट्रिय आकांक्षा पूरा हुने दिशामा अघि बढ्ने विश्वास व्यक्त गर्नुभयो ।
उहाँले विभिन्न सञ्चारमाध्यमले अनावश्यक आलोचना गरेको र नेताहरुले नागरिकको गुनासा नसुनेको भन्ने गलत प्रचार भइरहेको भन्दै आग्रह पूर्वाग्रह छोड्दै विकास र उन्नतिको बाटोमा एकताबद्ध भएर अघि बढ्न आग्रह गर्नुभयो ।
प्रधानमन्त्री ओलीले सुशासन र पारदर्शिता विकासको अत्यावश्यक शर्त भएको बताउनुुहँदै देशको विकासमा जुट्न समेत आग्रह गर्नुभएको छ ।