काठमाडौँ । आर्थिक वर्ष २०७७/७८ मा नेपालमा विभिन्न १४ देशबाट ६२ करोड ३३ लाख ९२ हजारको चुइँगम आयात भएको छ । भन्सार विभागको तथ्याङ्कअनुसार सबैभन्दा बढी भारतबाट आयात भएको छ ।
आर्थिक वर्ष २०७७/७८ मा भारतबाट ६० करोड ८५ लाख ८० हजार रुपैयाँ बराबरको १८ लाख ६८ हजार केजी चुइँगम आयात भएको थियो । उक्त भारतबाट आयातित चुइँगमबाट मात्रै ४४ करोड १४ लाख ५७ हजार राजश्व सङ्कलन गरेको थियो ।
विभागको तथ्याङ्कअनुसार आर्थिक वर्ष २०७७/७८ मा नेपालमा ६२ करोड ३३ लाख ९२ हजार रुपैयाँ बराबरको १९ लाख २३ हजार केजी चुइँगम आयात भएको हो ।
भन्सार विभागको तथ्याङ्कअनुसार नेपालले पाँच वर्षमा चुइँगम मात्रै दुई अर्ब ६३ करोड ६३ लाख ६२ हजार रुपैयाँ बराबरको ८२ लाख १७ हजार पाँच सय ४९ केजी चुइँगम आयात गरेको छ । उक्त आयातित विदेशी चुइँगमबाट सरकारले एक अर्ब ६४ करोड ८३ लाख ६४ हजार रुपैयाँ राजश्व सङ्कलन गरेको छ ।
नेपालमा अमेरिका, बङ्गलादेश, टर्की, बेलायत, दक्षिण कारिया, नेदरल्यान्ड, पोल्यान्ड, युएई, जापान, हङ्ककङ, इजरायल, इटली, थाइल्यान्डलगायत देशबाट आयात हुने गरेको छ ।