बिराटनगर । सोलुखुम्बुका प्रदेश सांसद एवं प्रदेश १ का पूर्वराज्यमन्त्री उत्तम कुमार बस्नेतले बागबानी केन्द्र फाप्लुलाई कृषि ज्ञान केन्द्रमा गाभेको विषयमा संसदको ध्यानाकर्षण गराउनुभएको छ । सोमबार प्रदेश सभाको शून्य समयमा बोल्दै सांसद बस्नेतले राजस्व संकलनमा अगाडी रहेको बागबानीलाई ज्ञान केन्द्रसँग समायोजन गर्दा हुने उपलब्धीको समिक्षा गर्नुपर्ने बताउँनुभभयो । यस्तै उहाँले कृषकसँग प्रत्यक्ष सरोकार राख्ने बागबानीको क्षेत्राधिकारलाई साँगुरो बनाउँदा हुने फाईदाको जवाफ जनतालाई पेश गर्नुपर्ने सभामुख समक्ष आग्रह गर्नुभयो ।
त्यसैगरी प्रदेश एकको १४ जिल्ला मध्ये सोलुखुम्बु र ताप्लेजुङमा बारुदयन्त्र (दमकल) नपुगेको भन्दै आक्रोस व्यक्त गर्नुभयो । सोलुखुम्बुको सोताङमा ल्याउने भनिएको बारुदयन्त्र सुनसरी र मोरङमा दिनु जायज नभएको जिकिर गर्नुभयो ।
यस्तै सांसद बस्नेतले जिल्लाको नेचासल्यान स्थित रेडक्रसमा आवश्यक सामाग्री राख्न गोदाम घर निर्माणका लागि प्रदेश सरकारबाट विनियोजित १० लाख रकम कटौती गरेको भन्दै आपत्ती जनाउनुभयो । संसदीय कोषबाट १० लाख पठाएको बताउनुहुदै पूर्वाग्रह नराखि रकम पुनः पठाउन सभामुख समक्ष आग्रह गर्नुभयो ।