सोलुखुम्बु । घरेलु तथा साना उद्योग कार्यालय सोलुखुम्बुको आयोजनामा एकै दिन २ वटा तालिम सुरु भएको छ । सोलुदुधकुण्ड नगरपालिका वडा नम्बर ६ मा डल, कुसन तथा खेलौना बनाउने तालिम र वडा नम्बर ७ मा सिलाइ कटाई तालिम आजदेखि सुरु भएको हो ।
घरेलु तथा साना उद्योग कार्यालय सोलुखुम्बुको आयोजना तथा सोलुदुधकुण्ड नगरपालिका वडा नम्बर ६ को समन्वयमा एक महिने डल, कुसन तथा खेलौना बनाउने तालिम सुरु गरिएको घरेलु तथा साना उद्योग कार्यालय सोलुखुम्बुका प्रमुख नारायण प्रसाद खतिवडाले जानकारी दिनुभयो । तालिममा वडाभित्रका ६ जनाको सहभागिता रहेको छ भने विनीता कुमारी पौडेलले प्रशिक्षण गरिरहनुभएको कार्यक्रम संयोजक टेक बहादुर बस्नेतले बताउनुभयो ।
यस्तै घरेलु तथा साना उद्योग कार्यालय सोलुखुम्बुको आयोजना तथा सोलुदुधकुण्ड वडा नम्बर ७ को समन्वयमा ३ महिने सिलाइ कटाई तालिम सुरु गरिएको वडा सदस्य भलाकाजी कार्कीले जानकारी दिनुभयो । तालिममा १० जना महिलाहरूको सहभागिता रहेको छ भने अर्चना राजभण्डारीले ३ महिने तालिमको प्रशिक्षण गराइरहनुभएको छ ।
घरेलु तथा साना उद्योग कार्यालय सोलुखुम्बुको वार्षिक महिला लक्षित कार्यक्रम अनुसार विभिन्न सीप मार्फत महिलाहरूको आय स्तर उकास्ने उद्देश्यले तालिमको आयोजना गरिएको कार्यालयले जनाएको छ ।