सोलुखुम्बु । सोलुदुधकुण्ड नगरपालिका र खुम्बु पासाङल्हामु गाउँपालिकाको अनुरोधमा जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुले नगर प्रहरी आधारभूत तालिम तथा प्रशिक्षण कार्यक्रम सुरु गरेको छ । आज शुक्रवार एक औपचारिक कार्यक्रमका साथ तालिम तथा प्रशिक्षण सुरु गरेको हो ।
खुम्बु पासाङल्हामु गाउँपालिकाबाट ५ जना र सोलुदुधकुण्ड नगरपालिकाबाट ४ जना गरी ९ जना नगर प्रहरीलाई तालिम तथा प्रशिक्षण प्रदान गरिने जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुका प्रहरी नायव उपरीक्षक द्वारिका प्रसाद घिमिरेले जानकारी दिनुभयो ।
तालिममा खुम्बु पासाङल्हामु गाउँपालिकाबाट नगर प्रहरी सहायक निरीक्षक १ जना, नगर प्रहरी ४ जना गरी ५ जना को सहभागिता रहेको छ । यस्तै सोलुदुधकुण्ड नगरपालिकाबाट ४ जना नगर प्रहरीको सहभागिता रहेको जनाइएको छ । जसमा २ जना महिला नगर प्रहरी रहेका छन् ।
जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुका प्रहरी नायव उपरीक्षक द्वारिका प्रसाद घिमिरेको संयोजकत्वमा दक्ष एवं अनुभवी ६ जना नेपाल प्रहरीको टोलीले तालिमको प्रशिक्षण गराउने कार्यक्रम रहेको छ ।
प्रशिक्षण कार्यक्रमको उद्घाटन गर्दै सोलुदुधकुण्ड नगरपालिका उपप्रमुख गान्धी माया तामाङले स्थानीय तहमा नगर प्रहरीको काम, कर्तव्य निकै महत्त्वपूर्ण हुने भएकाले तालिम प्राप्त नगर प्रहरीको आवश्यकता रहेको बताउनुभयो । वहाँले तालिम प्रभावकारी हुनुपर्ने बताउँदै तालिम सञ्चालनका क्रममा अनुगमन तथा निरीक्षण गरिने उल्लेख गर्नुभयो ।
प्रमुख जिल्ला अधिकारी अनोज कुमार घिमिरेले तालिम उपलब्धिमूलक रहनेमा विश्वास व्यक्त गर्नुभयो ।
जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुको समन्वय तथा खुम्बु पासाङल्हामु गाउँपालिकाको प्रयासमा प्रहरी प्रधान कार्यालय तालिम निर्देशनालयबाट स्वीकृत कार्यक्रम अनुसार ४५ दिनको तालिम तय गरिएको प्रहरी नायव उपरीक्षक द्वारिका प्रसाद घिमिरेले जानकारी दिनुभयो ।
नगर प्रहरीको काम कर्तव्य र अधिकारभित्र परेका कार्यहरू सहज रूपमा गर्नका लागि सैद्धान्तिक ज्ञानका साथै अभ्यासको पनि आवश्यक पर्ने भएकाले सोही अनुसारका कुराहरू ४५ दिनको अवधिमा प्रशिक्षण गरिने प्रनाउ घिमिरेको भनाइ छ ।
यस्तै खुम्बु पासाङल्हामु गाउँपालिकाका कार्यपालिका सदस्य ल्हाक्पा गेल्जेन शेर्पाले नेपालको संविधानले दिएको अधिकार प्रयोग गर्दै स्थानीय सरकार सञ्चालन ऐन २०७४ अनुसार नगर प्रहरी नियुक्त गरेको बताउनुभयो । फोहोर व्यवस्थापन, बजार अनुगमन, स्थानीय सरकारद्वारा सञ्चालित योजना तथा स्थानीय तहले निर्माण गरेको ऐन कानुनको प्रभावकारी कार्यान्वयनका लागि गाउँपालिकाले गत असोज ३० गते नगर प्रहरीलाई नियुक्त गरेको कार्यपालिका सदस्य शेर्पाले जानकारी दिनुभयो ।