सोलुखुम्बु । खुम्बु पासाङल्हामु गाउँपालिका वडा नम्बर ४ स्थित आमाडब्लम युवा क्लब पाङबोचेले एक महिलाको उद्धार गरी परिवारसम्म पुर्याइदिएको छ । करिब ३६ वर्ष देखि खुम्बु क्षेत्रमा दैनिक ज्यालामा काम गर्दै आउनुभएकी सोलुदुधकुण्ड नगरपालिका वडा नम्बर २ थुम्लिङकी धन माया श्रेष्ठलाई उद्धार गरी परिवारको जिम्मा लगाइदिएको क्लबले जनाएको छ ।
आमाडब्लम युवा क्लब पाङबोचेको पहलमा ७२ हजार ६ सय रुपैयाँ आर्थिक सहयोग सङ्कलन गरी वहाँलाई टाक्सीन्दुसम्म हेलिकप्टर मार्फत पठाइएको क्लबका अध्यक्ष सोनाम दोर्जी शेर्पाले जानकारी दिनुभयो ।
आमाडब्लम युवा क्लबका अध्यक्ष सोनाम दोर्जि शेर्पाले सोलुदुधकुण्ड नगरपालिका वडा नम्बर ६ दोर्पुका स्थानीय समाजसेवी लक्ष्मण श्रेष्ठलाई वहाँको बारेमा जानकारी गराए पश्चात् परिवारको खोजी गरी उद्धार गरिएको हो ।
यता धन माया श्रेष्ठकी कान्छा छोरा जित बहादुर श्रेष्ठले सकुशल रूपमा आमाको जिम्मा लिएको बताउँदै आमाको हेरविचार गरेर राख्ने प्रतिबद्ध जनाउनुभएको छ ।
वहाँ विगत लामो समयदेखि श्रीमानसँग खुम्बु पासाङल्हामु गाउँपालिका वडा नम्बर ४ पाङबोचे लगायतका विभिन्न स्थानमा दैनिक ज्यालामा काम गर्दै आउनुभएको र श्रीमान् डिक बहादुर राईको गत वर्ष निधन भएपश्चात् एक्लै बस्दै आउनुभएको जनाइएको छ ।
श्रीमानको निधन पश्चात् आमा डब्लम युवा क्लब पाङबोचेले आर्थिक सहयोग सङ्कलन गरी काजक्रिया गर्न मद्दत गरेको जनाइएको छ ।