सोलुखुम्बु । नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा सोलुखुम्बुले दुधकुण्ड मेलामा पुगेका ६ सय ७३ जना भक्तजनको स्वास्थ्य परीक्षण गर्नका साथै औषधी वितरण गरेको छ ।
जनै पूर्णिमाको अवसरमा दुधकुण्ड जाने भक्तजनलाई लक्षित गरी आयोजना गरेको निःशुल्क प्राथमिक स्वास्थ्य शिविरमा ६७३ जनालाई उपचार गरेको नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा सोलुखुम्बुले जनाएको छ ।
शिविरको पहिलो दिन श्रावण २३ गते कामु डाँडामा एक सय २३ जनाको स्वास्थ्य उपचार गरिएको नेपाल रेडक्रस सोसाइटी सोलुखुम्बु शाखाका कोषाध्यक्ष सुरेश खडकाले जानकारी दिनुभयो ।
उहाँका अनुसार यस्तै दोस्रो दिन जम्लयाहा खोला, गाम्टाङ, सहस्र बेनी लगायतका स्थानहरूमा बाटैबाट एक सय ९४ जना तथा सो बेलुकी तथा जनै पूर्णिमाको दिन तीन सय ५६ जना भक्तजनहरूलाई औषधि वितरण तथा स्वास्थ्य परीक्षण गरिएको थियो । आकस्मिक नेपाली सेनाले उद्धार गरेको ५ जना यात्रुहरूलाई समेत उपचार गरिएको थियो ।
यस वर्ष नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको पूर्ण सहयोगमा सोलुखुम्बुको प्रसिद्ध दुधकुण्डमा आउने तीर्थ यात्रीहरूको स्वास्थ्यलाई लक्षित गरी निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरिएको नेपाल रेडक्रस सोसाइटी सोलुखुम्बु शाखाका कोषाध्यक्ष सुरेश खडकाले जानकारी दिनुभयो ।
नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा सोलुखुम्बुले बर्सेनि निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरी भत्तजनहरुलाई स्वास्थ्य सेवा प्रदान गर्दै आएको छ । यस वर्ष शिविरमा नेपाल रेडक्रस सोसाइटी सोलुखुम्बु शाखाका कोषाध्यक्ष सुरेश खडकाको नेतृत्वमा २ जना स्वास्थ्य कर्मी सहित १२ जना खटिएका थिए ।
सोलुदुधकुण्ड नगरपालिका वडा नम्बर १ टाक्सीन्दुमा अवस्थित ठुलो दुधकुण्डमा जनै पूर्णिमाको अवसरमा हरेक वर्ष मेला लाग्ने गर्दछ । मनोकाङ्क्षा पूरा हुने विश्वासका साथ सोलुखुम्बु लगायत छिमेकी जिल्लाबाट यस वर्ष नाग पञ्चमीदेखि जनै पूर्णिमाको दिनसम्म तीन हजार बढी दर्शनार्थीहरु पुगेको जनाइएको छ ।
समुन्द्री सतह देखि ४५३१ मिटरको उचाइमा अवस्थित नुम्बुर हिमालको काखैमा रहेको दुधकुण्ड पोखरी धार्मिक र प्राकृतिक पवित्र तीर्थस्थल हो ।












Discussion about this post