काठमाडौ । फूच्चे । थोरै चकचके । मिलनसार अनि ज्ञानि पनि । उमेर मात्र १५ वर्ष । किशोरावस्थामा भर्खरै प्रवेश गरेको ।
कैयौँ सपनाहरु । यो गरौँला, त्यो गरौँला भनेर रमाउने उमेर । स्कूले साथिहरुसँग जुध्दै अनि मिल्दै समयहरु बितिरहेका थिए बाजुराका प्रेम आचार्यको ।
निम्न वर्गिय अनि कृषक परिवार । स्कूलबाट फर्केर घाँसपात अनि वस्तु गोठालो गर्नु उनको दैनिकि नै थियो ।
समय सधैँ एकनाशको रहँदैन भनेझैँ २०६१ मंसिर १६ गते शुक्रबारको दिन । स्कूलबाट फर्केर वस्तुलाई घाँस काट्नका लागि जंगल गए । अन्य समयमा त्यही जंगल, भीरपाखामा घाँसपात गर्दा केही नभएको ।
दूर्भाग्य ! त्यो दिन, घाँस काट्ने क्रममा भीरबाट लडेर शरीरमा चोट लाग्नुको साथै घुँडाको हड्डीमा असर पुग्यो ।
गाउँका मानिसले घरमा त ल्याए । तर मर्ने बाँच्ने अत्तोपत्तो थिएन । मरेको भन्दा सास चलिरहेको थियो । बाँचेको भन्दा उनले कसैलाई ठम्याउन सक्ने अवस्था थिएन ।
विना उपचार लगातार दुई वर्ष घरमै जिउँदो लास सरह कष्टकर जिवन बिताउनुपर्यो ।
विकट ठाउँ बाजुरा । उपचारको लागि दुई दिन हिँडेर नेपालगञ्ज नर्सिङ होममा जानुपथ्र्यो ।
देशमा पूर्ण संकटकाल थियो । माओवादिको चलखेलले गर्दा काँहीकतै जानका लागि सहज वातावरण थिएन । सिटामोल सम्म राम्रोसँग पाउने अवस्था नभएको ठाउँमा यातायातको सुविधा त ‘आकाशको फल आँखा तरि मर’ भन्ने उखानको टुक्का जस्तै थियो ।
जसकारण उपचार गर्नका लागि राम्रो अस्पताल जान सम्भव भएन । उपचार नपाएपछि सदाको लागि अपांग हुनुपर्यो ।
गाउँमा चलिआएको पूरानो चलन–धामीझाँत्री । लडेर शरीरमा चोट लाग्दा डाक्टरले उपचार गर्नुपर्ने ठाउँमा पनि धामीझाँक्रीको झारफूकलाई सहारा लिनुपर्ने बाध्यता ।
एक थोपा पानि नखाइ सास फेरिरहेका प्रेमको १६ दिनपछि बल्ल केही होस आयो । बाँच्छ होला भनेर परिवारमा कसैको पनि आशा थिएन ।
होस आउँदा आफुलाई हिँड्न नसक्ने अवस्थामा पाए । हिँडेरै संसार जित्छु लागेका खुट्टाहरु ह्वीलचेयरमा विश्राम लिइरहेका थिए । पाइला सार्न खोज्दा पुरै शरीरले थिच्यो । आफुलाई के भइरहेको छ भन्ने चाल पाएनन । सधैँ हिँडिरहेको बाटो, घाँसदाउरा गरेको पाखा पखेरा अनि जंगलहरु सदाका लागि बिरानो हुन पुगे ।
त्यसपछि लाग्यो अब म बाँच्नुहुन्न । किन परिवारको बोझ बन्ने लागेर आफुले आफैलाई कति पटक मार्न पनि खोजे ।
समयले किन ठग्यो…? केही पाप गरेजस्तो लागेको थिएन । यस्तै हजारौँ कुराहरु खेलाउँदै दुइ वर्ष बिते ।
०६३ सालतीर देशमा शान्ति आयो । त्यसपश्चात बल्ल अस्पताल जानका लागि केही सहज वातावरण बन्यो । आफन्त अनि छिमेकीले डोकोमा बोकेर उनलाई नेपालगञ्ज नर्सिङ होममा पुर्याए । पाँच महिनामा दुई पटक अप्रेसन गर्नुपर्यो । अप्रेसनको लागि करिव दुई लाख खर्च लाग्यो । त्यहाँ करिव पाँच महिनाको उपचारपछि खुट्टामा केही सुधार त आयो तर पहिलाको अवस्थामा फर्कन सकेनन ।
त्यसपश्चात आर्थिक समस्याका कारण पुरै सुधार नभइन पुनः घर फर्किनुपर्यो ।
ह्वीलचेयरबाट अब उनको सहारा वैशाखी बन्यो । वैशाखीको सहाराले हिँडे पनि दुइ खुट्टाले हिँडेजस्तो सहज कहाँ थियो र..तरपनि अरु विकल्प नभएपछि वैशाखी नै उनको दुख सुखको साथि बन्यो ।
कक्षा आठमा पढ्दा पढ्दै भीरबाट लडेर अपांग बन्नुपर्दा निरन्तर स्कूल जान पाएनन । तरपनि पढ्ने रहर भने ताजै रह्यो । त्यपछि उनले वैशाखीको सहारा लिएर पुःन स्कूल पढ्न जान थाले । अन्य बेला स्कूल पुग्न दुई घण्टा लाग्ने बाटो चार÷पाँच घण्टा लाग्न थाल्यो । तरपनि पढ्न छाड्छु भनेर कहिल्यै सोचेनन । स्कूल गएर पढ्ने रहरलाई मार्न चाहेनन ।
यसैगरि पढ्दै ०६६ सालमा एसएलसी दिए । ०६७ सालमा रिजल्ट आयो । सेकेण्ड डिभिजनमा पास भए ।
एसएलसी पश्चात प्लस टु पढ्नका लागि बाजुराको सदरमुकाम मातडी स्थित श्री मालिका उच्च माविमा मेजर इङ्लिस अर्थात शिक्षा संकायमा अंग्रेजी विषय लिएर अध्ययन गर्न सुरु गरे । १२ कक्षासम्मको पढाइ सकेर उनी खुट्टाको थप उपचारका लागि घरमा कसैलाई थाहा नदिइ उनि एक्लै बाजुराबाट काठमाडौँ आए । काठमाडौँमा कोही आफन्त थिएनन उनका । उपचारको लागि वीर अस्पतालमा भर्ना भए । पैसा सिमित मात्र भएकाले होटलमा बस्नका लागि पैसा नभएपछि उनी वीर अस्पतालको टिकट काउण्टरमा भोकभोकै दिनरात कटाउँथे । कहिँ जाउँ त आफन्त थिएनन । केही आफन्तहरु भएपनि उनको अवस्था देखेर परपरै छिछि दुरदूर गर्ने गर्थे । त्यसपश्चात कसैको वचन सहनुभन्दा त्यही टिकट काउण्टरलाई सहारा बनाएर खाइनखाइ करिव पाँच महिनासम्म बिताए । त्यहा बस्दा सेक्युरीटिले पनि अपच शब्द बोल्ने गरेको सुनाउँछन ।
उपचारकै क्रममा वीर अस्पतालमा कार्यरत डा. प्रमोद बराल उनको सहारा बनेर आए । उनको अवस्था देखेर डा. प्रमोदले उपचारमा लाग्ने सबै खर्चहरु बेरोरीदिए ।
उनी भन्छन, सबैको छिछि दुरदूर सहदा सहँदा मानवता हराएकै जस्तो लाग्थ्यो । आफन्त कोही पनि छैनन की लाग्थ्यो । तर डा. प्रमोद । उनी मेरो जीवनमा भगवान बनेर आए । ओहो ! साच्चै मलाई साहारा दिने मान्छे पनि रहेछन जस्तो लाग्न थाल्यो । मेरो जीवनले नयाँ मोड लियो ।’
खुट्टा उपचार गर्दै सानोठिमि क्याम्पस भत्तपुरमा उनले त्यहाँ शिक्षा संकायमा जनसंख्या र अर्थशास्त्र विषयमा स्नातक तहमा पढ्न सुरु गरे । स्नातक पढ्नका लागि परिलक्षित संस्थाले उनलाई छात्रवृत्ति दिएको थियो । छात्रवृत्तिसँगै आफुले विभिन्न संघसंस्थामा काम गरेर पढाइ खर्च सँगै अन्य पैसाको लागि संघर्ष गरेको बताउँछन ।
‘कति दिन भोकभोकै बसेको छु । व्यत्त गर्न पनि सक्दीन ।’०७१ र ०७२ सालमा उज्जवल नक्षत्र समाज डाटा कलेक्सनमा काम गरेँ । अनि ०७४ र ०७५ सालमा संस्कृत मावि काठमाडौँमा पढाउने काम गरेँ ।’
वैशाखीको सहारा लिएर डाटा कलेक्सन गर्नका लागि इलाम, भोजपुर, रामेछाप, सिन्धुली, पाँचथर, झापा लगायतका जिल्लामा पुगेको सुनाउँछन ।
उनी भन्छन । ‘गाउँमा हँुदा धेरै थरिका कुराहरु सुन्नपर्दा साह्रै दुख लाग्थ्यो । काठमाडौँमा पनि त्यस्तो भनाइहरु कति खान पर्यो । तर जीवन हो चलाउनुपर्छ । सहने बानि परीसक्यो ।’
उनी भन्छन सबैभन्दा ठूलो कुरा भनेको आत्मविश्वास नै रहेछ । आत्मविश्वासले गर्दा नै आज म यहाँसम्म आइपुगेको हुँ ।
अहिले रत्न राज्य लक्ष्मी क्याम्पस काठमाडौँमा समाजशास्त्र विषयमा चौथो सेमेस्टरमा स्नाकोत्तर गर्दै छन ।
पढेर समाजमा केही उदाहरणिय काम गरौँ भन्ने सोच छ प्रेमराजको ।
उनी भन्छन, ‘उपचार नपाएर यो अवस्थामा पुग्नुपर्यो । उपचार पाएको भए सायद मैले यो अवस्था भोग्नुपर्ने थिएन । तरपनि हार मानेको छैन । खुट्टा मात्र अपांग भएको हो । मेरो सोच अनि जोस जाँगरहरु कहिल्यै अपांग भएको थिएन, भएको छैन र हुने पनि छैन ।
‘मेरो आफनो ठाउँबाट जतिसक्ने कोशिश गर्नेछु । आत्मविश्वास कहिल्यै कम हुन दिएको छैन । आफुले आफनो सोच बदल्दै जाने हो । अपांग भएकालाई कतिले बिचरा ! भनेर दयाको ट्याग दिन्छन त कतिले हेलाको दृष्टिकोणले हेर्छन् ।
मलाई न कसैको बिचरा हुनु छ न कसैबाट अपहेलित नै । प्रेरणाको स्रोत बन्ने काम सदा गर्न सकुँ । चाहे समाजले मलाई जुनै दृष्किोणले हेरोस ।’