काठमाडौँ । सानैदेखि नाच्न सौखिन खोटाङकी शशिकला राई अहिले मोडलिङमा व्यस्त छिन् ।
‘हुने बिरुवाको चिल्लो पात’ भनेजस्तै दुई–तीन कक्षादेखि नै विद्यालयस्तरीय कार्यक्रममा सहभागिता जनाउने उनी कार्यक्रममा सधैँ उत्कृष्ट हुन्थिन् ।
आफ्नो रुचि डान्समा भएका कारण टेलिभिजनमा अरू नाचेको हेर्न खुब मन पथ्र्यो उनलाई । तर आफ्नो घरमा टिभी नभएकाले अरूको घरमा टिभी हेर्न गएको सुनाउँछिन् ।
टिभीबाट प्रसारण हुने विभिन्न रियालिटी सो हेरेर अझ बढी प्रभावित भएकी शशिकला अरू नाचेको देख्दा आफूलाई पनि टिभीको पर्दाभित्र नाचेको कल्पना गर्थिन् ।
‘म पनि यसैगरी नाच्न पाए… मेरो पनि डान्स हेर्नलाई सबैजना यसैगरी जम्मा हुने भए…’, उनलाई लाग्थ्यो ।
सानैदेखि नाच्नमा रुचि भए पनि कला क्षेत्रमा स्थापित हुन्छु भन्ने खासै लागेको थिएन उनलाई । कसैलाई आफ्नो सपना यस्तो छ भनेर भन्न सङ्कोच मान्थिन् ।
पारिवारिक पृष्ठभूमि कलाकारिता नै भएका कारण कला क्षेत्रमा अघि बढ्दै छु भन्न खासै डर नभए पनि आफैँप्रति डर थियो उनलाई । म गर्न सक्छु कि सक्दिनँ… समाजले बुझेको कला क्षेत्रमा मैले निरन्तरता दिन सक्छु कि सक्दिनँ… यस्तै लाग्थ्यो सधैँ ।
उनी भन्छिन्, ‘कसैलाई सुनाउँदिनथेँ, डर लाग्थ्यो । गर्दै जान्छु राम्रो भयो भने भैहाल्यो, नभए त्यसपछि सोचौँला लाग्थ्यो ।’
बच्चामा रेडियो उनको साथी जस्तै थियो । जता गए पनि रेडियो साथमा हुन्थ्यो उनको । कार्यक्रम, समाचारहरू सुन्नका लागि भन्दा पनि गीत सुन्न्र रेडियो साथमा लिने गरेको उनी बताउँछिन् । गीत बज्नासाथ आफू पुगेको ठाउँमा नाच्न सुरु गर्थिन् ।
हिँड्दा हिँड्दै बाटोमा होस् या काम गर्दै होस्, रेडियोमा बजेको गीतमा कम्मर भाँचेर नाच्न मन लागिहाल्थ्यो । घर, बाटो, जङ्गल, पाखा पखेरा उनका लागि ध्वजा, पताका अनि फूलहरूले चट्ट सजिएको स्टेज जस्तै थियो ।
गाउँमा कहिले अरूको घरमा टिभी हेर्न गएर अनि कहिले जङ्गलमा घाँस दाउरा गर्दै सिकेको नृत्यले कहिले स्थान पाउला भन्ने पर्खाइमा थिइन शशि । पछि एसएलसी दिएपछि काठमाडौँ आइन् । त्यसपछि पढ्दै नृत्य पनि सिकिन् । घरमै टिभी पनि हेर्न पाइन् ।
त्यसपछि भने उनको सपनाले आकार लिन थाल्यो । अनि अब यही क्षेत्रमा मैले केही गर्नुपर्छ भन्ने अठोट लिइन् ।
२०७२ सालमा उनले सेलो गीत ‘हिउँको दरबार’ मार्फत म्युजिक भिडियोमा डेब्यु गरिन् । डेब्यु गरेको भिडियोबाटै धेरै दर्शकको माया पाइन् । उनको अभिनयको प्रशंसा भयो ।
त्यसपछि एकपछि अर्को गर्दै धेरै गीतमा अफर आउन थाले । आफ्नो रुचिको क्षेत्र भएकाले मेहनतका साथ काम गर्दै गइन् । उनी भन्छिन्, ‘अहिले करियर नै यही हो भनेर झन् मेहनत गरिरहेकी छु ।’
पहिला सुरुआती अवस्थामा क्यामेरा फेस गर्न निकै गाह्रो भएको उनी सुनाउँछिन् । काम गर्दै जाँदा सहज भएको र अहिले क्यामेरा नै साथी भएको उनको अनुभव छ ।
आफ्नो अभिनय राम्रो हुँदै गएको साथै कामको चाप बढ्दै गएकाले समय मिलाउन हम्मेहम्मे पर्छ उनलाई ।
उनी भन्छिन्, ‘कहिलेकाहीँ दिनमा दुई–तीनवटा सुटिङ पर्छ । सायद मप्रतिको विश्वासका कारण होला । खुसी नै लाग्छ । पहिला यो ठाउँमा कसरी पुग्ने हुन्थ्यो, अहिले समय मिलाउन ।’
२०७२ सालमा डेब्यु गरेकी शशिकलाले हालसम्म ७० भन्दा बढी म्युजिक भिडियोमा अभिनय गरिसकेकी छिन् ।
उनी भन्छिन्, ‘माया कहिल्यै पुरानो हुँदैन’, ‘कस्तो कस्तो माया हाम्रो’, ‘परदेश जाने परदेशी’ मेरा मनपर्ने भिडियोहरू हुन् ।
म्युजिक भिडियो गर्दै जाने क्रममा अभिनयलाई मन पराएर नेपाली टेलिसिरियल ‘विधुवा र चमेली’ मा समेत अभिनय गर्ने अवसर पाएकी छिन् ।
यस्तै उनले आफ्नै आवाजमा गीतकार आरबी लामाको शब्द तथा सङ्गीतमा रहेको ‘पूर्वको बसमा सरर’ पूर्वेली गीतसमेत गाइसकेकी छिन् ।
उनी भन्छिन्, ‘अहिले भिडियो बनाउन पाएको छैन । अब चाँडै भिडियो पनि बनाउछौँ । योसँगै अर्को आधुनिक गीत पनि बजारमा ल्याउने तयारीमा छु ।’
आफ्नो कलालाइ दर्शकहरूले मन पराएकै कारण अन्तर्राष्ट्रिय स्तरका कार्यक्रममा पनि सहभागी हुन पाएको उनी सुनाउँछिन् । कतार, ओमन, चाइना, इन्डिया पुगेर उनले आफ्नो कला प्रस्तुत गरिसकेकी छिन् ।
‘कला क्षेत्र आफूभित्र लुकेको प्रतिभालाई प्रस्तुत गर्ने माध्यम पनि हो । संसारले मूल्याङ्कन गरिरहेको हुन्छ,’ उनी भन्छिन्, ‘कसरी प्रस्तुत हुने आफूमा भर पर्छ । मलाई यही क्षेत्रबाट खुसी मिलेको छ । करियर पनि बनाउँदै छु ।’
उनी भन्छिन्, ‘ग्ल्यामर फिल्डमा बुझेर काम गरे राम्रो छ । करियर बनाउन सकिन्छ । तर अरूको लहैलहैमा लागेर आयो भने समस्या पनि उत्तिकै छन् ।