dudhkoshionline
  • गृहपृष्ठ
  • समाचार
  • समाज
  • कला/मनाेरञ्जन
  • प्रवास
  • हिँड्दाहिँड्दै
  • खेलकुद
  • विविध
No Result
View All Result
dudhkoshionline

स्वर्ग वा नर्क पुगेपनि, दुधकोशी सामुदायिक अस्पतालबाट जनताले सेवा लिएको हेर्न पाँउ : स्व. भीम बहादुर राई

अलविदा भीम बाजे ! अलविदा !

दूधकाेशी अनलाइन by दूधकाेशी अनलाइन
मंसिर ११, २०७७
in समाज
Share on FacebookShare on Twitter

जीन्दगीको के छ र भर,
अजम्बरी को नै छ र,
भाविले लेखेको कसले छ देखेको ।

गीतकार सुरज गैरेले लेख्नुभएको गीतको शब्द जस्तै, यो संसारमा अजम्बरी त को नै छ र …ढीलोचाँडो न रहेछ, तर अवश्य एकदिन यो संसारबाट बिदा भएर सबैजना जानैपर्ने…।

कुन भेट र कुन बोली अन्तिम हुने हो, कसैलाई पनि थाहा हुँदैन ।

मलाई पनि के थाहा, दुई दिन अगाडि भीम बाजेसँगको भेट र कुरा अन्तिम हुन्छ भनेर । दुई दिन अगाडि मात्र बाजेसँग भेट हुँदा ठीकै छु भनेर सुनाउनुभएको थियो । अकल्पनिय त्यो खबर, पत्यार लागेकै थिएन । तर अन्ततः बाजेले हामी सबैलाई सदाको लागि छाडेर जानुभयो ।

भावनाले बनेको कतिपय सम्बन्धहरु कति प्रगाढ अनि अविष्मरणीय हुने रहेछन्, की कसैले सदाको लागि छोडेर जाँदा पनि मनमा उनै मानिसहरुले छाडेका छापहरु रहीरहने । आवाजहरु कानमा गुञ्जिरहने ।

८४ वर्षको उमेरमा पनि स्वस्थ व्यक्ति । पहिलो पटक कुराकानि गर्नेलाई उहाँको बोली र स्वभाव अलि कडा लागेपनि उहाँको स्वभाव साधारण थियो । बच्चाहरुलाई खुब माया गर्नुहुन्थ्यो ।

हरेक वर्षको दशैँ र तीहारको बीचमा भेट हुन्थ्यो बाजेसँग । बाजे (हजूरबुबा) ले मलाया लाहुर जाँदा र पल्टनको नम्बरीहरुका कुराहरु खुब सुनाउने गर्नुुहुन्थ्यो । अनि हाम्रो गाउँ यस्तो थियो । मान्छेहरु यस्ता थिए, भनेर प्राय सुनाइरहनुहुन्थ्यो । बाजेको कुराहरु सुन्न रमाईलो लाग्थ्यो ।

उहाँसँगको कुराकानीकोे आधारमा रहेर उहाँको बारेमा गतवर्ष, पाँच सय शब्दको छोटो कथा (लेख) तयार पारेकी थिँए । पछि आजको न्यूज अनलाईनमा पोष्ट भएको थियो । खुब खुशी हुनुभएको थियो । पछि त्यही कथा पढेर केही आफन्तहरुले कमेण्टमा लेख्नुभएको कुरा सुनाएकी थिँए ।
….हा..हा..हा ….हाँस्दै भन्नुभएको थियो, ‘म बुढो मान्छेको कथा सबैले पढे की के हो ।

अनि फेरि थप्नुभयो, ‘म बाँचेको बेला त लेखिदिइस, म मरेपछि पनि लेखिदीन्छस नी ?

हरेक भेटमा दुधकोशी सामुदायिक अस्पताल निर्माण हुँदै गरेको बडो उत्साहको साथ सुनाउनुहुन्थ्यो । निर्माणाधिन दुधकोशी सामुदायिक अस्पताल र प्राविधिक शिक्षालय अवलोकनका लागि जाने उहाँको दैनिकी नै बनेको थियो ।

उहाँले भन्ने गर्नुहुन्थ्यो, “मैले अस्पतालको लागि जग्गा दे’को छु । राम्रो अस्पताल बन्दैछ । अस्पताल बनेर सबैकुराको चाँजोपाँजो मिलीसकेपछि हाम्रो गाउँको मान्छे उपचारको लागि अन्त जानैपर्दैन । ठूलो अस्पताल हो यो । अनि अबदेखि ईन्जीनियर पढ्नको लागि पनि सुविधा यहि आएको छ ।”

हरेक पटकको भेटमा अस्पताल निर्माणको कुरा सँगै गाउँपालिका प्रमुख असीम राईको खुब खुलेर प्रशंसा गर्नुहुन्थ्यो ।
उहाँ भन्नुहुन्थ्यो, “हाम्रो गाउँ ले खुब राम्रो मान्छे पायो । त्यही भएर गाउँमा बिकास हुँदैछ । अस्पताल बन्दैछ, रोड बन्दैछ, बैँक आयो । मैले त्यही बैँकबाट पेन्सन निकाल्छु । कति सजिलो कति ।” (उहाँले भन्नुभएको कुरा जस्ताको तस्तै)

जन्म र मृत्यु बिचको कुरा,
हुँदैन सबै चाहेका पूरा ।

गीतकार सुरज गैरेले लेख्नुभएको गीतको शब्द जस्तै, चाहेका सबै पूरा त नहुने नै रहेछन् ।
अस्पताल बनीसकेपछि घरछेवैको अस्पतालले पुर्याउने सेवा सुविधा हेर्ने उहाँ (स्व. भीमबहादुर राई) को अन्तिम ईच्छा थियो ।

उहाँले भन्ने गर्नुहुन्थ्यो,– “हुन त म यो अस्पताल बनिसक्दासम्म बाँच्छु कि बाँच्दीन, तर बनिसकेर डाक्टरहरु आएर काम गरेको हेर्ने ठूलो रहर छ । म बाँचिरहे भने त देख्न पाँउछु, मरेर गए पनि अस्पताल राम्रो बनोस । सबैलाई सुविधा होस ।”

भन्दै उहाँले भन्नुभएको थियो, ‘म मरेर स्वर्ग वा नर्क पुगेपनि, गाउँको अस्पतालबाट जनताले राम्रोसँग सेवा सुविधा लिएको हेर्न पाँउ । सबैलाई भलो होस ।”

हरेक भेटमा गाउँको विकासको बारेमा चासो लिइरहने अग्रज व्यक्ति आज हामीबाट सदा सदाको लागि टाढा हुनुभएको छ । तपाईको हरेक मीठा शब्दहरु मन मस्तिष्कमा रहिरहनेछन् । अनि तपाईले समाजमा पुर्याउनुभएको महत्वपूर्ण योगदानहरु सदा सदाको लागि अविष्मरणीय हुनेछन् ।

बाजे, तपाईको मृत्युले हामी सबैजना स्तब्ध छौँ ।
तपाईको आत्माले स्वर्गमा पास पाओस ।
अलविदा भीम बाजे । अलविदा !

(स्व. समाजसेवी भीमबहादुर राई सोलुखुम्बु जिल्लाको थुलुङ दुधकोशी गाउँपालिका ६ मुक्लीमा निर्माणाधीन दुधकोशी सामुदायिक अस्पतालको जग्गादाता हुनुहुन्थ्यो । उहाँको यहि मिति २०७७÷०८÷०५ गते ८४ वर्षको उमेरमा निधन भएको हो ।)

गतवर्ष आजको न्यूज अनलाइनमा पोष्ट गरिएको लेख…

थुलुङ दुधकोसी गाउँपालिका ६ सोलुखुम्बूका भीमबहादुर राई अहिले ८३ वर्ष पुगे । तर जोस र जाँगर भने १८ वर्षे युवाको जस्तो छ । उनलाई चस्मा लगाएर हिँड्न साह्रै मन लाग्छ रे । खानामा दाल, भात, दही, दूध, घ्यू खाने गर्छन् रे उनी ।

बर्मामा जन्मिएका उनी सात वर्षको उमेर हुँदा नेपाल आएका थिए । नेपाल फर्कने क्रममा बाटोमा भाइ मरेको रे भनेर सुनाउँँछन् उनी । तर उनलाई यकीन छैन, भाइ मरेको हो कि होइन भनेर । उनी भन्छन्, ‘भोकमरी थियो, भोकले मर्यो कि, कसैले लग्यो थाहा छैन ।’

नेपाल आएपछि घरमा नै केही वर्ष काम गरेर बिताए उनले । १५ वर्ष उमेरको हुँदा मलाया लाहुरेमा भर्ती भए । उनी भन्छन्, ‘बुबा समसेरजंग सारै छुच्चो हुनुहुन्थ्यो, आमाको नाम थाहा छैन । म बर्मामा हुँदा नै बुबाआमा छुट्टिएका हुन् ।’

रहरले पल्टन गए पनि ट्रेनिङमा सारै गाह्रो भएको अनुभव सुनाउँछन् । तर त्यो समयमा सबैजना भर्ती जाने गर्दथे । त्यसैले करले भए पनि बडो कष्टका साथ तालिम गरेको उनी बताउँछन् । उनी भन्छन्, ‘हाईजम्प, लङजम्प, परेड खेल्नुपथ्र्यो । दुस्मनबाट बच्न र बचाउनका लागि बेलुका कहिले ६ कहिले १२ घण्टा ड्युटी बस्नुपथ्र्यो । कहिलेकाँही त रातभर नसुती नै ड्युटी बस्नुपथ्र्यो ।’

पहिलेको समयमा खानेकुराको कमी थियो । ड्युटीको बेला आफ्नै अगाडि कति साथिहरू भोकले मरेको उनी बताउँछन् । उनी भन्छन्, ‘हामी हिँड्दाहिँड्दै कति मान्छेहरू मरिरहेका हुन्थे, वास्ता नै हुन्नथ्यो । अहिले कहिलेकाहीँ सम्झने गर्छु । आङ जिरिंग हुन्छ । तर म मरिनँ, भाग्यमानी रहेछु, अहिलेसम्म बाँचिरहेको छु । ढुंगामुढा जस्तै मान्छेहरू मरेर गएका थिए, त्यतिबेला अहिलेको जस्तो मनपरी खानेकुरा थिएन ।’

आफ्नो पालोमा गाउँमा स्कूल नभएर नपढेको बताउने उनी पल्टनमा दुई कक्षासम्म रोमन गोर्खाली पढेकोे सुनाउँछन् । अंग्रेजी भाषा केही मात्रामा बुझे पनि अहिले बुढो हुँदै गएकाले बिर्सिंदै गएको उनले बताए ।

१० वर्ष पल्टनमा बसेर पेन्सन पाकिसकेपछि घर फर्किए । उनी भन्छन्, ‘मेरो फस्र्ट सेभेन जीआर पल्टन हो । म राइफलम्यान थिएँ । डिस नम्बर २११४९५९४ हो ।’ (यो नम्बर भएपछि नम्बरको आधारले मान्छे कहाँ छ, अर्थात् मान्छे जिउँदो छ कि मरेको छ भन्ने कुरा थाहा हुन्छ रे ।)

आफ्नो पालामा नोटको चलन नभएको उनी बताउँछन् । १६ रूपैयाँ बोकेर भर्ती हुन गएका भीमबहादुरले पहिलोपटक पेन्सन लिन जाँदा चार सय रूपैयाँ लिएर आएको बताउँछन् । उनी भन्छन्, ‘त्यो समयमा एक रूपैयाँमा दुई पाथी मकै आउँथ्यो । अहिले एक रूपैयाँको निशाना नै छैन । यो समयमा सय रूपैयाँको त मान्यता हुँदैन के एक रूपैयाँको कुरा गर्नु ! समय पनि यसरी बदलिने रहेछ ।’

पहिलाको समयमा पाथीमा राखेर पैसा भर्ने चलन रहेको उनी बताउँछन् । उनी भन्छन्, ‘पाथीमा एक झुसी बराबर एक हजार रूपैयाँ हुन्थ्यो । अहिले त गनिन्छ । पहिला साह्रै लाटो समय थियो, अहिले बैंकमा जम्मा गर्ने चलन आयो ।’

पल्टनबाट फर्किंदा धरानमा पाँच रूपैयाँको नोट पहिलोपल्ट बाटोमा भेटेका थिए रे । पछि पेन्सन लिन जाँदा पनि १० रूपैयाँको मात्र नोट चल्तीमा रहेको उनी बताउँछन् । पेन्सन लिनका लागि १० वर्षसम्म धरानसम्म धाएको बताउने राई अहिले गाउँमा नै आएको लक्ष्मी बैंकबाट पैसा लिने गरेको बताउँछन् ।

घरनजिकै रहेको बैंकबाट पैसा लिन पाउँदा खुसी भएको उनको अनुभव छ । त्यही भएर पैसा जम्मा गर्न अथवा कतै पठाउन सहज भएको सुनाउँछन् । उनी भन्छन्, ‘टाढा जानुपर्ने बाध्यता हटेको छ, साह्रै राम्रो भयो ।’

पल्टनबाट गाउँ आएपछि गाउँका मानिसहरूलाई गानोगोला, ज्वरो, झाडापखाला लगायतका आयुर्वेदिक औषधिहरू बेच्ने गर्दथे उनी । पछि मानिसहरू स्वास्थ्यचौकी जान थालेपछि औषधि बेच्न छाडेको उनी बताउँछन् । गाउँमा पहिले गाडी नआउँदा घोडाबाट विभिन्न ठाउँ जाने गर्थे । तर अहिले गाडी चल्न थालेपछि घोडा पनि बेचेको उनले सुनाए ।

उहिले गाउँ पातलो थियो, अहिले जनसंख्या बढेर गाउँमा घरहरू पनि टन्नै बनेका छन् । गाउँमा सडक छ, कहीँकतै जानुपर्यो भने सहजता भएको उनको बुझाइ छ । २५ वर्षको उमेरमा बिहे गरेको उनका छ सन्तान छन् । आफ्नो चार पुस्ता नै लाहुरे भएको उनी बताउँछन् । बाजे, बुबा, आफू र छोरासमेत लाहुरे भएका रहेछन् ।

उनी भन्छन्, ‘सँगसँगै पल्टन गएका मेरा नम्बरीहरू मरे कि छन् थाहा छैन, तर म चाँहि अझै बाँचिरहेको छु । अझै कोही नम्बरीहरू बाँचेका छन् भने मेरो सल्युट छ ।’

(गार्डेन राईद्धारा लिखीत लेख)

Previous Post

चाणक्यको १० महत्वपूर्ण अमर वाणीहरु

Next Post

नेकपा सचिवालयको बैठक आज दिउँसो

Related Posts

समाज

थुलुङ दुधकोशी गाउँपालिका वडा ६ मा १० वटा टोल विकास संस्था गठन

मंसिर १८, २०७९
समाज

चस्कुच्यो मुलिनेम उत्थान समाज कुइभिर ओखलढुंगा-काठमाडौँको देउसी भैलोबाट एक लाख बढि आर्थिक संकलन

कार्तिक १४, २०७९
समाज

थुलुङ संस्कृति संरक्षण समाज मुक्लीको देउसी भैलो कार्यक्रम सम्पन्न

कार्तिक १४, २०७९
समाज

नवरात्रको सातौं दिन आज, कालरात्रि देवीको पूजा आराधना गरिँदै

अशोज २६, २०७८
समाज

सामलिङ्ग पावर कम्पनीको आइपिओ साउन २२ देखि

साउन १४, २०७८
समाज

प्रदेश १ को ३२ अर्ब ४६ करोड ९२ लाख रुपैयाँ बराबरको बजेट

असार १, २०७८

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार

थुलुङ दुधकोशी गाउँपालिका वडा ६ मा १० वटा टोल विकास संस्था गठन

मंसिर १८, २०७९

सोलुखुम्बुका मतादातामा छैन उत्साह, भन्छन छैन गतिला एजेण्डा ।

कार्तिक २३, २०७९

चस्कुच्यो मुलिनेम उत्थान समाज कुइभिर ओखलढुंगा-काठमाडौँको देउसी भैलोबाट एक लाख बढि आर्थिक संकलन

कार्तिक १४, २०७९

थुलुङ संस्कृति संरक्षण समाज मुक्लीको देउसी भैलो कार्यक्रम सम्पन्न

कार्तिक १४, २०७९

किरात राई यायोक्खाले सोलुखुम्बुमा अन्तक्र्रिया गर्ने

कार्तिक १४, २०७९

बढी पढिएका समाचार

  • को हुन थुलुङ दुधकोशी गाउँपालिका प्रमुखका उमेद्धद्धार आङ बाबु राई….

    25 shares
    Share 10 Tweet 6
  • बाहीरीे संसारलाई मात्र हेर्ने हो भने त आहा! छ । तर वास्तविक भोगाइको अर्थ जब बुझिन्छ तब श्वास फेर्न गाह्रो हुन्छ ।

    8 shares
    Share 3 Tweet 2
  • स्वर्ग वा नर्क पुगेपनि, दुधकोशी सामुदायिक अस्पतालबाट जनताले सेवा लिएको हेर्न पाँउ : स्व. भीम बहादुर राई

    8 shares
    Share 3 Tweet 2
  • अहँ, ऊ पटक्कै मान्दैन ।

    7 shares
    Share 3 Tweet 2
  • मलाई सय जनाले चिने पनि, मेरो लागि त्यहि आर्शिवाद हुनेछ ।

    7 shares
    Share 3 Tweet 2

☏ सम्पर्क

✔ दूधकोशी मिडिया प्रा.लि.
∞ थुलुङ दूधकोशी गाउँपालिका ६, सोलुखुम्बु
✆ फोन : ९८१८५७३१५८
✉ इमेल : [email protected]

टीम

अध्यक्ष : पार्बुङ राई
सम्पादक : दृश्य राई

सामाजिक सञ्जालमा हामी

© Dudhkoshi Media Pvt. Ltd 2020 - All Right Reserve ।। powered by : IT Karkhana । आईटी कारखाना.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • समाज
  • कला/मनाेरञ्जन
  • प्रवास
  • हिँड्दाहिँड्दै
  • खेलकुद
  • विविध

© Dudhkoshi Media Pvt. Ltd 2020 - All Right Reserve ।। powered by : IT Karkhana । आईटी कारखाना.

error: Content is protected !!