गार्डेन राई/काठमाडौँ
कोरोना कहरले मानिसलाई बन्द कोठाभित्र सीमित बनाइरहेको छ । बिहानदेखि काममा व्यस्त हुनेहरू पनि झट्ट हेर्दा फुर्सदिला देखिन्छन् । बाहिरबाट झट्ट हेर्दा सहज देखिए पनि हरेकको पीडा र बाध्यता आ–आफ्नै छन् ।
कतिपय समाचार हेरेर थकित भएका छन् । कतिपय दिनभरि कोठाभित्र थुनिएर बस्नुपर्दा उकुसमुकुस भएर कतै गएर लामो सास फेर्न आतुर देखिन्छन् । अनि कतिपय कोरोनाको त्रासले भन्दा पनि जीविकोपार्जन ठप्प भएर दैनिकीमा आएको समस्याका कारण पीडित छन् ।
हरेकको आ–आफनै बाध्यता हुँदाहुँदै पनि कतिपयले भने रोगबाट बच्न विभिन्न उपाय अपनाएको पाइन्छ ।
दोलखाकी इन्दिरा कार्की आफ्ना दुई छोरी र श्रीमानका साथ अहिले ललितपुरको बालकुमारीमा बस्छिन् । हरेक दिनको समाचारले आफूलाई कमजोर भएको महसुस गरे पनि सुरक्षाको उपाय अपनायो भने बाँच्न सकिन्छ भन्ने आशाले उनी हरेक दिन कोठाभन्दा बाहिर नगएको बताउँछिन् ।
उनी भन्छिन्, ‘हप्ताको एक दिन तरकारी लिन श्रीमान् बाहिर निस्किनुहुन्छ । एकैपटक हप्ता दिन पुग्ने तरकारी लियो, फ्रिजमा राख्यो । बच्चाहरूलाई सफा अनि ताजा मात्र खाना खुवाइरहेकी छु ।’
डराएर बस्नुभन्दा पनि आफूलगायत आफ्नो परिवारका सदस्यको मनोबल उच्च बनाउन एकअर्कामा कुरा गर्ने, नानीहरूलाई सिर्जनात्मक कार्यमा सहयोग गर्ने लगायत कार्य गर्नाले कोरोनाको चिन्ता नहुने उनको भनाइ छ ।
उनी भन्छिन्, ‘डाक्टरले दिएको सुझावजस्तै सबै कुरा त गर्न सकिन्न, तर आफूलाई बचाउन केही त गर्नैपर्यो नि !’
‘यो महामारीले सबैलाई रुवाएको छ । अहिलेको पीडा न लुकाउन सकिन्छ न त फुकाउन सकिन्छ,’, बौद्धमा बस्दै आएका बाजुराका प्रेमराज आचार्य भन्छन्, ‘अहिलेसम्म त सुरक्षित बसिएको छ ।’
राज्यले समयमै सोच्नुपर्नेमा त्यसो हुन नसकेकामा उनको आक्रोश छ । ‘नेपालको राजनीतिक गतिविधि देखेर दुःख लाग्छ,’ उनी भन्छन्, ‘कुर्सी र सत्ताको तानातान… यो निरीह कार्य मात्र भयो । यस्तो अवस्थामा अभिभावकको जिम्मेवारी खै ?’
कोठामा स्यानिटाइजर र मास्कको मात्र थुप्रो भएको बताउने रामेछापकी नमिता तामाङ सरसफाइमा विशेष ध्यान दिँदै हरेक दिन बेसार पानी खाँदै आएको बताउँछिन् ।
उनी भन्छिन्, ‘रेडियो, टिभीमा भनेजस्तै त सबैकुरा किनेर खान सकिँदैन । तर आफूले किन्न सक्ने चाहिँ कोरोना नलागोस् भनेर नै खाँदै छौँ ।’
‘के गर्नु सरकारले केही नगर्ने भयो । सबै कुरा हाम्रो पहुँचमा छैन,’ उनी भन्छिन्, ‘सुरक्षा त अपनाउँदै छौँ । बाँचे ठिकै छ, मरे के गर्नु त…?’
कतिपय नागरिक सचेत भए पनि कतिपय अझै पनि कोरोनालाई साधारण तरिकाले नै लिइरहेका छन् । कतिपयले जानीजानी हेलचेक्र्याइँ पनि गरेको पाइन्छ ।
कोरोना नियन्त्रणका लागि स्वास्थ्य मन्त्रालयद्वारा विभिन्न सूचना आइरहेका छन् । सामाजिक सञ्जालदेखि लिएर चोकचोकमा सूचनाहरू टाँस गरिएको छ । विज्ञ डाक्टरहरूका सुझाव पनि उत्तिकै आइरहेका छन् । के हामी नागरिक यी विधि साँच्चै अपनाइरहेका छौँ त ? प्रश्न आफैँलाई सोधौँ ।
हरेक दिन मृतकको सङ्ख्यामा वृद्धि भइरहेको छ भनेर समाचार पढिरहँदा मन चिसो त सबैको अवश्य भएको छ । मन चिसो मात्र बनाउने कि सतर्कता पनि अपनाउने ? फेरि आफैँलाई प्रश्न गरौँ ।
सरकारले जनतालाई बचाउन सकेन भनेर भनेर सामाजिक सञ्जालमा मानिस आफ्नै किसिमका विचार लेखेर आक्रोश जनाइरहेका छन् ।
के सरकारलाई दोष दिँदै आफ्नो गल्ती चाहिँ लुकाइरहने ? अर्को प्रश्न फेरि आफैँलाई ।
यस्ता कैयौँ सवाल–जवाफ आफैँसँग गरेर कोरोना नियन्त्रणका लागि सुझाइएका सुरक्षाका उपाय अपनाउनुबाहेक अब अन्य विकल्प तत्कालका लागि देखिँदैन ।
त्यसैले आफैँ सजग र सचेत रहन सके मात्र कोरोना कहरबाट छुटकारा मिल्न सक्छ । दोष दिनेभन्दा पनि सकेको सुरक्षाका उपाय अपनाएर सहयोग गरौँ ।
अक्सिजनको अभावले अकालमा सङ्क्रमितहरू मरिरहेको खबरले पनि कतिपय नागरिक सचेत भइरहेका छन् । समय छोटो छ, त्यसैले अरूले गरेको गल्तीबाट पाठ सिकेर त्यस्ता गल्ती नदोहोर्याउनुमा नै हाम्रो भलाइ छ ।