ए… तिमी पनि यतै थियौ ? मलाई त थाहै थिएन ।
हो त यतै थिएँ । फेरि लकडाउन भयो । के गर्नु, गाउँ फर्किनुपर्यो भनेर टिकट काट्न आ’को ।
त्यही त ! के समय आयो यस्तो… म पनि त्यही टिकट काट्न आ’को । भाडा कति पुग्यो ? बढाए कि के छ हौ, बुझ्यौ तिम्ले ?
छैन । गाडी जाम भएर म नि भर्खरै आइपुगेको । भाडा बढे त ठिकै हो दाइ । गाडी पो पाइएला कि नपाइएला… टेन्सन भो ।
चाबहिल चोकमा टिकट काट्न आएका दुई जनाबीचको संवाद हो यो ।
0000000
अन्य समयमा सुनसान देखिने काठमाडौँको चाबहिलस्थित विभिन्न काउन्टरहरूमा गाउँ फर्कन टिकट काट्नेको घुइँचो लागेको छ ।
केही मानिस ब्याग अनि अन्य सामानले भरिएका जेब्रा, सुटकेस घिसार्दै यता र उता गरिरहेका थिए । कोही फोनमा काठमाडौँको अवस्थाको बारेमा सुनाउँदै थिए भने कोही टिकट काट्नमा व्यस्त देखिन्थे ।
गाउँ जान हिँडेका गाडीले गर्दा बुधबार दिउँसो काठमाडौँका सडकमा अन्य समयभन्दा बढी जाम भएको छ । हुडभरि सामान बोकेर रिजर्भ लेखिएका गाडीहरूको लस्करै छन् । काठमाडौँको चक्रपथलगायत अन्य रुटका गाडी पनि अन्य विभिन्न जिल्लाका लागि हिँडेका छन् ।
टिकट काटिसकेपछि केही मानिस फोनमा घर आउने कुरा सुनाउँदै थिए ।
सोलुखुम्बू घर बताउने प्रतापसिंह राई दुवै हातमा ब्याग बोकेर हस्याङफस्याङ गर्दै गाडीमा सामान राख्न व्यस्त थिए । उनले बल्लतल्ल गाडी पाएको बताउँदै टिकट पाउन धौधौ परेको सुनाए ।
चाबहिलस्थित दूधकुण्ड काउन्टरका एक कर्मचारी भन्छन्, ‘सोलुखुम्बूका लागि मात्र सुमो र ठूला बस गरी दुई सयभन्दा बढी गइसके । अब अझै भरे साँझसम्ममा कति जान्छन्, यकिन हुन्न ।’
यस्तै तुवाचुङ मारातीका यातायात प्रालिका कर्मचारी बैगिन राईले तीन सय जनाभन्दा बढी मानिस खोटाङ जिल्ला पठाएको बताए । यो समाचार तयार पार्दासम्म पाँच सयभन्दा बढी गाडी सिन्धुलीका लागि गइसकेको उनले बताए ।
यस्तै ओखलढुङ्गा, सुनसरी, मोरङ, धनकुटा, झापालगायत जिल्लाका मानिस पनि मङ्गगलबारदेखि गइरहे पनि अहिलेसम्म कति जना गए भन्ने यकिन नभएकोे काउन्टरका कर्मचारीहरू बताउँछन् ।
यस्तै सिन्धुली जान लागेकी कल्पना बस्नेत भन्छिन्, ‘खै काठमाडाँै बसेर नि यो बन्दमा के गर्ने ? सबै सामानको भाउ पनि आकासिएको छ । अब केही समय गाउँ गएर बस्दा नै सुरक्षित भइएला कि ! बाँचे ठिकै छ, मरे आफ्नै परिवारको साथ मर्न पाइन्छ ।’
०००
भोलि (वैशाख १६ गते) देखि निषेधाज्ञा हुने भनेर धेरै मिडियामा ‘बे्रकिङ’ र शीर्ष समाचार बने । सार्वजनिक यातायात बन्द हुने तथा अत्यावश्यकबाहेकका सेवा बन्द हुने समाचारले नागरिक त्रसित भए ।
बाटोमा, घरमा, गाडीमा हरेक ठाउँ कोरोना नियन्त्रणका लागि सरकारले घोषणा गरेको निषेधाज्ञाले चर्चा पाएको छ यतिबेला ।
फोनमा होस् वा भेटमा । एकअर्कामा ‘फेरि लकडाउन भयो… कतिसम्म हुने हो अब फेरि…’ जस्ता कुरा गरिरहेको सुन्न पाइन्छ ।
यतिबेला कतिपय मानिस खाद्यान्नको जोहो गर्न लागेका छन् भने कतिपय सहरबाट गाउँ फर्किरहेका छन् ।
टिकट काउन्टरमा उत्तिकै मानिस देखिन्छन् भने पसलमा पनि सामानको जोहो गर्नेहरू उत्तिकै आएका छन् । कोही भन्छन्– ‘अब लकडाउनमा सामानको भाउ कति पुग्ने हो कुन्नि ? अलिअलि त सामान जोहो गर्नै पर्यो नि !’
०००
कोरोनाका कारण यतिबेला सहरलाई कर्मक्षेत्र बनाएर बसिरहेका सबै मानिसमा त्रास छन । कतिबेला के भएर कोरोना सर्छ भन्ने सबैमा चिन्ता छ ।
काठमाडौँमा अध्ययन गर्दै आएकी सोलुखुम्बूकी रिनुका राई पनि गाउँ जाने भनेर बुधबार बिहानका लागि टिकट काटेकी थिइन् । तर ड्राइभरले बिहान जानकारी नै नदिई गएपछि उनी जान पाइनन् । काउन्टरमा फोन गरेर अवस्था बताएपछि बल्लतल्ल दिउँसो ३ बजेका लागि अर्को गाडी पाएको उनले सुनाइन् ।
उनको समस्याबारे काउन्टरका कर्मचारीसँग जिज्ञासा राख्दा कर्मचारी भन्छन्, ‘काउन्टरबाट सिधा सम्पर्क गरेर पठाइरहेका छौँ । टिकट काट्ने आफैँले पनि चनाखो हुनुपर्यो । हामीलाई पनि गाह्रो छ, छुट्यो भने हामी जिम्मेवार हुँदैनौँ ।’
यसरी गाउँ फर्कने मानिस धेरै भइरहँदा काउन्टरले पनि व्यवस्थापनमा खासै चासो भने दिएको पाइएन । जसकारण यात्रु अलपत्र पर्ने सम्भावना रहन्छ । त्यसैले यात्रु र काउन्टर साथै ड्राइभरले सहकार्य गरी एकअर्कालाई सहयोग गर्नु आवश्यक देखिन्छ ।
काठमाडौँबाट बाहिरिने विभिन्न स्थान– नयाँ बसपार्क, पुरानो बसपार्क, चाबहिल, कलङ्कीलगायतका मुख्य नाकामा यतिबेला गाउँ फर्कने मानिसको भिड छ । सबैबाट आउने उत्तर एउटै छ– ‘गाउँ सुरक्षित छ, त्यसकारण गाउँ फर्कंदै छौँ ।’
सुरक्षाका हिसाबले हेर्दा पनि गाउँ अलि सुरक्षित देखिएका कारण धेरैजसो मानिस गाउँ फर्किरहेका छन् । तर गाउँलाई सुरक्षित मानेर फर्किंदै गर्दा गाउँका मानिस भने त्रसित देखिन्छन् । त्यसैले गाउँ फर्कंदा पनि स्वास्थ्य मन्त्रालयले बनाएको नियमलाई अनिवार्य पालना गरेर बस्न सके मात्र सहज हुनेछ र कोरोना सङ्क्रमणबाट सुरक्षित रहन सकिने छ ।