dudhkoshionline
  • गृहपृष्ठ
  • समाचार
  • समाज
  • कला/मनाेरञ्जन
  • प्रवास
  • हिँड्दाहिँड्दै
  • खेलकुद
  • विविध
No Result
View All Result
dudhkoshionline

कांग्रेस जीवन र मृत्युको दोसाँधमा !

कुलचन्द्र वाग्ले

दूधकाेशी अनलाइन by दूधकाेशी अनलाइन
भदौ १३, २०७७
in हिँड्दाहिँड्दै
Share on FacebookShare on Twitter

नेपाली कांग्रेस जीवन र मृत्युको दोसाँधमा छ । भन्दा कठोर लाग्छ तर स्थितिबोधले यस्तै बताउँछ । इतिहास रचेका विश्वको थुप्रै ऐतिहासिक पार्टी इतिहासको गर्तमा पुरिएका उदाहरण छन् । नब्बेको दशकदेखि शुरु भएको कम्युनिस्टहरुको पतन यस्तै शृंखलाको एउटा घटना हो । नेपालकै प्रजापरिषद्को अब इतिहासमात्र छ । महात्मा गान्धी र जवाहरलाल नेहरुजस्ता विश्वप्रसिद्ध राजनेताहरु जन्मे, जन्माएको भारतको भारतीय राष्ट्रिय कांग्रेस यति बेला जीवन मरणको संघर्षमा छ । नेपाली कांग्रेस कतै, यस्तै दुर्दान्त दोसाँधमा त छैन ?
नेपाली कांग्रेस यतिबेला विभिन्न कोणको चर्चामा छ । कांग्रेसका नेता, कार्यकर्ताभन्दा बढी स्वतन्त्र पर्यवेक्षक भनिने राजनीतिक विश्लेषकहरुले सामयिक दृश्यबाट चर्चा चलाएका छन् । चर्चा चिन्तामा छ, चिन्तन र विचारमा छ । कांग्रेसको यथास्थिति वा भावी गति र समयलाई बोल्न, भन्न सक्ने रुपान्तरणको सोचमा चर्चा निःसृत छ ।
कार्यकर्ताबीच आन्तरिक जोडघटाउको हिसाबकिताब होला तर त्यसभन्दा माथि प्रजातान्त्रिक तह गहिरो अभिरुचिका साथ व्यक्त हुँदैछ । यसै प्रसंगमा कांग्रेसको सान्दर्भिकता वा विघटन भन्ने जस्ता सबाल उठाइएका छन् । यस्ता सबाल किन उठे ? खासमा तलदेखि माथिसम्मको कांग्रेस नेतृत्व र नेतृत्वमा पुग्ने लहरमा बसेकाले अध्ययन गर्ने विषय हो ।

‘विघटन’ शब्द शालीन लाग्छ र पनि अर्थसन्देश अवसान वा मृत्युकै दिन्छ । मृत्युभन्दा विघटनमात्र मन्दविष । भनिन्छ, मृत्यु स्वाभाविक हो तर संस्थाहरुको मृत्यु जीवको जस्तो स्वाभाविक होइन । सभ्यता निर्माणको चरणमा आउने प्रलयकारी परिवर्तन अर्को दुनिया भयो । धार्मिक दर्शनले जीव मानिसको पुनर्जन्म कल्पना गरेको छ, त्यो कति यथार्थ छ ? वैज्ञानिक खोजको विषय हुनसक्छ तर संस्थाहरु सबैभन्दा सजिलै पुनर्जीवित हुन्छन् । इतिहासकै आँखा अगाडि यस्ता पुनर्जन्म विम्बित छन् । विश्वमा मर्दै, झर्दै गएको कम्युनिस्ट वृत्ति अर्कै हंश धारण गरेर नेपालमा पुनर्जीवित भएको छ ।

संस्थाहरु मर्नु र ब्रह्मनालबाट पुनर्जीवित फर्कनु इतिहासका लागि दुवैै अन्यथा होइन । कांग्रेस पुनर्जीवनको चर्चा यही कारण भइरहेको हो । सम्भावना देखिउन्जेल समाजले चियो चर्चो गर्ने रहेछ । चर्चा जीवन गति हो जब त्यो सेलाउँछ त्यो चाहिँ मृत्यु हो, सम्झना छोडेर जाने ।

सम्भावित महाधिवेशनको निहुँ कांग्रेसप्रति विचार विश्लेषणको सान्दर्भिकता हो । यतिमात्रै होइन कांग्रेसको गतिविधिले उब्जाएको दिक्दारीको निकास यस सन्दर्भमा खोजिएको समेत हो । फराकिलो वैचारिक फाँटमा सबल र सुदृढ कांग्रेस देशलाई बहुआयामिक साथ दिन पुनःजाग्रत होस् भन्नेमा लोकतन्त्रवादी जनमत व्यक्त भएको छ ।

विश्लेषण र दशाले कांग्रेसको वैचारिक आत्मा शून्य प्रायःतिर गएको देखाएको छ । उसलाई मृतसंजीवनी विचार चाहिएको छ । सधैँ प्रजातन्त्र र खासगरी दक्षिण एसियामा भारतीय स्वतन्त्रता संग्रामले रोजेको लोकतन्त्र शब्द पुनःपुनः उद्धरणमात्रैले कांग्रेसलाई अटुट जीवन दिन सक्तैन । दक्षिण एसियाली मुलुक नेपालबाट उठेका विश्वप्रसिद्ध बिपी कोइराला जस्ता मूर्धन्य राजनेताको नाम जपले नै पनि ‘बेडा पार’ लाग्नेवाला छैन ।

बिपी त समय सन्दर्भ दर्शन हो जसले सबै दर्शनको केन्द्रीय तत्त्व मानवीय वा नागरिक भएको लक्ष्य तोके या उद्घाटित गरे । बिपीको सानो ‘मोदियाइन’ उपन्यासको ठूलो सन्देश पनि यही हो । समय गतिशील छ । यसैले मानिस पनि गतिशील हुन्छ । गतिले प्रगति खोज्छ र सम्बोधन माग्छ । यही माध्यम निःसृत विचारहरुलाई सामयिक बनाउने सभ्यता अगाडि बढेको हो । समयले मागेको चिन्तन समाविष्ट हुदैजाँदा विचारको साम्राज्य बन्यो । मान्छेको सभ्यता बाचुञ्जेल विचारको मृत्यु त्याज्य छ । कांग्रेस कता ?

बीपीले आफ्नो दुनियाँमा गाई, हलगोरु, घर, शिक्षा र स्वास्थ्य जस्ता ‘कुटीर’ प्राप्तिमा आफूसरहको नेपाली बन्ने, बनाउने सपना देख्नुभएको हो । यो सपना नागरिक वा समय सम्बोधक छ । आधुनिक वैचारिक जग बसेको नेपाली समयले छ दशकभन्दा धेरै नेटो काट्दै छ । जनता लक्षित बिपी विचारको केन्द्र विन्दुमा मान्छेको समयलाई सम्बोधन गर्ने कांग्रेसको सान्दर्भिकता यसै कारण विश्लेषण भएको हो ।

नेपाली कांग्रेस राजनीतिक, आर्थिक, सामाजिक र सांस्कृतिक साथै नेपाली जनजीवनको प्रत्येक आयामको उज्यालो हो । भोक्ता मात्रै होइन इतिहासलाई नयाँ युगमा रुपान्तरण गर्ने शक्ति हो । कांग्रेसको शुभ्र, सुन्दर यही अनुहार यतिबेला मलीन भएको छ । खोजी हुँदैछ सौन्दर्य पुनःभरण गर्ने । महाधिवेशन नीतिवाहक नेतृत्वको खोजी पर्व हो । नीति, विचार (खासमा) राजनीतिक संस्थाको लोभ्याउने सुन्दर आर्कषण कला हो ।

सत्तरी वर्षमाथिको जीवन गतिमा चौधौं महाधिवेशनको सँघार टेकेको कांग्रेसप्रति अहिले बाह्य चासो र चर्चा जुन तहमा व्यक्त भएको छ त्यस तहमा कांग्रेसभित्रैबाट वैचारिक वा सांगठनिक बहस खासै सार्वजनिक भएको छैन । आन्तरिक गठजोडका कुरा होलान् तर चेतनशील समाजलाई प्रेरणादायी विचार दिन आफ्नो सम्भावना तोक्ने नेतृत्व पनि चुक्दैछ ।

अधिनायकवादी ‘स्कुलिड्’बाट आएको कम्युनिस्ट नेतृत्व आफ्नै शीर्ष नेताहरुलाई ‘सुँगुरको प्रतिमूर्ति’उपमा दिने हैसियतमा देखिएको बेला कांग्रेसका दाबेदार नेतृत्व आफ्नो उपयोगिता प्रदर्शन हुने सम्बोधन राष्ट्रसामु गर्न सकेको छैन । त्यही तहको शब्दपीडा व्यक्त नगर्दा पनि नागरिकसँग सम्वाद गर्ने आकर्षण त भावी नेतृत्व दाबा गर्नेले दिनैपर्ने हो ।

कांग्रेससँगको आग्रह त्यसै होइन । प्रजातन्त्रप्रति प्रतिबद्ध रहेकाहरुलाई समाजवादी कांग्रेसको प्रजातन्त्रप्रतिको अटुट आस्थाले आकर्षित र अपेक्षित बनाएको छ । अहिलेको सन्दर्भमा कम्युनिस्ट सरकारको मनपरी तन्त्र, बेथिति र भ्रष्टाचारविरुद्ध कांग्रेस सुध्रिएर आओस् भन्ने हो । कम्युनिस्ट मनपरी ब्रह्मलुटले आजित जनमत विकल्पको तीव्र खोजीमा प्रष्टै छ । विकल्पमा कांग्रेसमात्रै देखिन्छ ।

विकल्पको कल्पना बुनेर देखिन खोजेका पारम्पारिक र नयाँ दलहरुले विचार, विश्वासको कुनै आधार प्राप्त गर्न सकेका छैनन् । त्यस्तो सम्भावना नजिक पनि देखिँदैन । कांग्रेसबाहेक अन्य दल प्रत्यक्ष निर्वाचित कार्यकारीको पक्षमा व्यक्त भएर अधिनायकत्व र वैदेशिक हस्तक्षेपको स्पर्धा भित्र्याउन उद्यत देखिएका छन् । चेपिएको भूराजनीनिक जोखिम बुझेर नै समावेशी संसदीय प्रणालीप्रति प्रतिबद्ध कांग्रेससँग देशभक्त नेपालीको संवेदना जोडिएको छ ।

महाधिवेशनको बेला कथित संंस्थापनको मनपर्दो राजनीतिक प्रतिवेदन आउला नै । संस्थापन भन्नु के हो ? विचार कि, पदासीनहरु ? सजिलोको लागि पदासीनलाई संस्थापन भन्ने गरिएको छ । युवा नेताको विषयमा अहिलेकै कांग्रेस तानिएको कतिपय विषय छन् भने यसलाई के भन्ने, इतर ? महाधिवेशनको मुखमा मुद्दाको उठान र बैठानको विश्वास दाबेदार कांग्रेस नेतृत्वले आर्जन गर्ने पाञ्चजन्य शंखघोषको प्रतीक्षा छ ।

सतही र पारम्पारिक ढर्रा बखानेर हुँदैन । नेतृत्वलाई दोष देखाएर लथालिङ्ग संगठन बखानेरमात्रै पनि वैकल्पिक विश्वास आर्जन गरिँदैन । गुट उपगुट संक्रमित ‘क्रोनिक’ कांग्रेसलाई नयाँ दिशा दिने भरपर्दो नेतृत्व उपचार चाहिएको छ । नीति सही होला त्यसको सामयिक व्याख्या खोजिएको छ । त्यस्तो व्याख्या दिन आफ्नै चर्चा गर्ने विचारवान् कोही कांग्रेस नेता अघि सरेको छैन ।

नेतृत्वको दाबा गर्नेले छलफलको लागि कमसे कम चारवटा विषयमा खुला आउनु पर्छ । पहिलो प्रजातान्त्रिक संसदीय राजनीति, दुई अहिलेको प्रणाली र सुधार संशोधन, अर्थ समाजवादी अवधारणाको समयानुकूल व्याख्या तेस्रो र चौथो छिमेक वा परराष्ट्र नीतिमा दृष्टिकोण अपेक्षित छ । इतिहाससमेत भावी बोल्ने प्रकारको अरु सामाजिक, सांस्कृतिक अपेक्षित नागरिक विषय यिनैभित्र समेटिनुपर्छ । नागरिक संवाद चाहिएको छ ।

यही दस्तावेज नेतृत्व दावेदारको राजनीतिक प्रतिवेदन हुनेछ । बहस र सुधार समावेश गर्ने आधार पाइनेछ । पदीय अहंकारले आन्तरिक प्रजातन्त्र थिचिएको तेरोमेरो पक्षपाती कांग्रेसमा विचार बहसमाथि अझै प्रतिबन्ध लगाइएको छैन क्यार ? कांग्रेसमा हुनुपर्ने खोज नेतृत्वमा अर्को आउने आग्रहमात्र होइन, समग्र रुपान्तरणको पनि हो । सारमा यस्तै कांग्रेसको होइन, रुप पनि यो हुनु हुँदैन । सहिष्णु, क्षमाशील र समेट्ने कांग्रेस चाहिएको छ ।

प्रतिपक्षीय पहिचान विलुप्त, सरकारी भागबण्डामा लिप्त, अकर्मण्य भ्रष्ट कांग्रेस अपेक्षित छैन । देश, नागरिक कोरोना प्रताडित, बाढी पहिरोपीडित र सामान्यजन दैनन्दिन खाँचो टार्न अशक्त यो बेला भागबण्डाको वार्षिकी लडाइँ गर्ने नेपाल कम्युनिस्ट पार्टी(नेकपा) र यसको सरकार नै बेथिती, भ्रष्टाचारका लागि पर्याप्त छ । यही विकल्पको खोजी कांग्रेस हो । देशको अस्मिता रक्षा र खुला समाजको अपेक्षाले लोकतान्त्रिक सभ्यताको कांग्रेस खोजिएको हो । प्रायः स्वीकार्यता अस्वीकृत गरिने अनुदार नेपाली समाजमा नेपाली कांग्रेसको उदार संस्कारको समेत प्रभाव परीक्षण हुनेछ । यही हो जीवन र मृत्युको दोसाँध !

Previous Post

खाेला तर्न ३ सय रुपैयाँ

Next Post

स्वास्थ्यको कारण देखाउँदै राजीनामा दिँदै जापानका प्रधानमन्त्री

Related Posts

FEATURE

सोलुखुम्बुका मतादातामा छैन उत्साह, भन्छन छैन गतिला एजेण्डा ।

कार्तिक २३, २०७९
FEATURE

बाटो, होटल अनि पसल । चियागफ, चुनावि टक ।

अशोज २४, २०७९
हिँड्दाहिँड्दै

यो उत्तर जोसँग सम्बन्धित छ…

बैशाख २७, २०७९
हिँड्दाहिँड्दै

को हुन थुलुङ दुधकोशी गाउँपालिका प्रमुखका उमेद्धद्धार आङ बाबु राई….

बैशाख ९, २०७९
हिँड्दाहिँड्दै

हिमालमा श्रीमान् गुमाउने महिलाकाे अठाेट : हामी पनि गर्न सक्छाैँ

फाल्गुन ६, २०७८
FEATURE

अहँ, ऊ पटक्कै मान्दैन ।

फाल्गुन ६, २०७८

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार

थुलुङ दुधकोशी गाउँपालिका वडा ६ मा १० वटा टोल विकास संस्था गठन

मंसिर १८, २०७९

सोलुखुम्बुका मतादातामा छैन उत्साह, भन्छन छैन गतिला एजेण्डा ।

कार्तिक २३, २०७९

चस्कुच्यो मुलिनेम उत्थान समाज कुइभिर ओखलढुंगा-काठमाडौँको देउसी भैलोबाट एक लाख बढि आर्थिक संकलन

कार्तिक १४, २०७९

थुलुङ संस्कृति संरक्षण समाज मुक्लीको देउसी भैलो कार्यक्रम सम्पन्न

कार्तिक १४, २०७९

किरात राई यायोक्खाले सोलुखुम्बुमा अन्तक्र्रिया गर्ने

कार्तिक १४, २०७९

बढी पढिएका समाचार

  • को हुन थुलुङ दुधकोशी गाउँपालिका प्रमुखका उमेद्धद्धार आङ बाबु राई….

    25 shares
    Share 10 Tweet 6
  • बाहीरीे संसारलाई मात्र हेर्ने हो भने त आहा! छ । तर वास्तविक भोगाइको अर्थ जब बुझिन्छ तब श्वास फेर्न गाह्रो हुन्छ ।

    8 shares
    Share 3 Tweet 2
  • स्वर्ग वा नर्क पुगेपनि, दुधकोशी सामुदायिक अस्पतालबाट जनताले सेवा लिएको हेर्न पाँउ : स्व. भीम बहादुर राई

    8 shares
    Share 3 Tweet 2
  • अहँ, ऊ पटक्कै मान्दैन ।

    7 shares
    Share 3 Tweet 2
  • नारी/स्त्री सम्बन्धि विद्धानका भनाइहरु

    7 shares
    Share 3 Tweet 2

☏ सम्पर्क

✔ दूधकोशी मिडिया प्रा.लि.
∞ थुलुङ दूधकोशी गाउँपालिका ६, सोलुखुम्बु
✆ फोन : ९८१८५७३१५८
✉ इमेल : [email protected]

टीम

अध्यक्ष : पार्बुङ राई
सम्पादक : दृश्य राई

सामाजिक सञ्जालमा हामी

© Dudhkoshi Media Pvt. Ltd 2020 - All Right Reserve ।। powered by : IT Karkhana । आईटी कारखाना.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • समाज
  • कला/मनाेरञ्जन
  • प्रवास
  • हिँड्दाहिँड्दै
  • खेलकुद
  • विविध

© Dudhkoshi Media Pvt. Ltd 2020 - All Right Reserve ।। powered by : IT Karkhana । आईटी कारखाना.

error: Content is protected !!