काठमाडौं । हिन्दू धर्मावलम्बीले श्रद्धापूर्वक वाचन र श्रवण गर्ने एक महिने श्रीस्वस्थानी व्रतकथाको आज समापन हुँदैछ ।
पुस शुक्ल पूर्णीमाका दिनदेखि सुरु भएको श्रीस्वस्थानी व्रतकथा शनिवार मध्याह्नकालपछि विधिपूर्वक पूजा लगाइ व्रत समापन गरी रात्रिमा जागराम बसी आइतवार बिहान फूलपाती नदीमा सेलाएपछि यो वर्षको स्वस्थानी व्रत समापन हुनेछ ।
महिनाभरि स्नान गरी मध्याह्न श्रीस्वस्थानीको पूजा गरी एक छाकमात्रै खाना खाएमा मनोकांक्ष पूरा हुने जनविश्वास छ ।विधिपूर्वक एक महिने व्रत गरेकाले माघ शुक्ल पूर्णिमाका दिन १०८ जनै, १०८ सुपारी, १०८ पान, १०८ फूल, १०८ रोटी, १०८ अक्षता विभिन्न थरीका फलफूल, धूप, बत्ती, नैवेद्य, श्रीखण्ड, रक्तचन्दन, सिन्दुर, वस्त्र, भेटी चढाइ व्रतको कामना पूर्ण होस् भनी भगवतीलाई अर्घ्य दिइन्छ । चढाइएका प्रसादमध्ये सबैबाट आठरआठ पतिलाई, पति नभए छोरालाई र छोरा पनि नभए मित छोरालाई एवम् मीत छोरा पनि नभएमा कामना सिद्ध होस् भनी नजिकको पवित्र नदीमा लगी बहाउने व्रत विधि छ ।