काठमाडौं । तीन हप्तासम्म निषेधाज्ञा लगाइएको काठमाडौं उपत्यकामा बिहीबारदेखि पसल र सवारी साधन पनि सञ्चालन हुने भएको छ ।
काठमाडौं, ललितपुर र भक्तपुरका प्रमुख जिल्ला अधिकारीले पसल र सवारी साधन पनि सञ्चालन गर्ने गरी निषेधाज्ञाको आदेश जारी गर्नुभएको छ ।
निजी सवारी साधन सबै र १६ सिट भन्दा बढी क्षमताका सार्वजनिक सवारी साधन अब जोर विजोर प्रणालीमा सञ्चालन हुनेछन् ।
ट्याक्सीमा चालकसहित ३ जना मात्र बस्न पाइनेछ ।
सार्वजनिक सवारी साधनमा एक लहरमा एक जना गरी कुल सिट संख्याको आधामा मात्र बस्न पाइनेछ । मालवाहक ढुवानीका साधनमा भने जोरविजोर लाग्ने छैन ।
पसल सञ्चालनका लागि व्यवसायको किसिमको आधारमा निश्चित बार मात्र खोल्न पाइने व्यवस्था गरिएको छ ।
स्वास्थ्य सम्बन्धी मापदण्ड अपनाउँदै सपिङमल, फेन्सी स्टोर, कपडा पसल, जुत्ता पसल, कस्मेटिक लगायतका पसलहरु साताको सोमबार, बुधबार र शनिबार मात्र खोल्न पाइने जिल्ला प्रशासन कार्यालय काठमाडौंले जानकारी दिएको छ ।
यस्तै भाँडा र भान्साजन्य साथै सोही प्रकृतिका अन्य पसलहरु साताको आइतबार, मंगलबार र शुक्रबार मात्र खोल्न पाइने छ ।
यसैगरी फर्निचर र अटो मोवाइल सम्बन्धी पसल साताको सोमबार र बुधबार मात्र खोल्न पाइने जिल्ला प्रशासन कार्यालय काठमाडौंले निर्णय गरेको छ ।