काठमाडौं । सरकारले सवारी चालक अनुमतिपत्र (लाइसेन्स) को परीक्षाका लागि नयाँ नियम ल्याएको छ । आगामी जेठ १ गतेदेखि लागू हुने गरी यातायात व्यवस्था विभागले लाइसेन्सका लागि अङ्कभारमा आधारित परीक्षा प्रणाली लागू गर्न लागेको हो ।
जेठ १ देखि लागू हुने सवारी चालक अनुमतिपत्र परीक्षा सञ्चालन कार्यविधि निर्देशिका २०७७’ मा लिखित र प्रयोगात्मक (ट्रायल) दुबै परीक्षाको मोडालिटी परिवर्तन गरिएको छ ।
हाल प्रयोगात्मक परीक्षामा एउटै गल्ती भए पनि लाइसेन्स लिन अयोग्य हुन्छ । तर नयाँ निर्देशिकामा ट्रायलका विभिन्न चरणलाई फरक–फरक अंकभार दिइएको छ र ७० अंक ल्याएमा लाइसेन्स लिन योग्य हुनेछ । अर्थात् सामान्य गल्ती गरे पनि लाइसेन्स पाउनबाट वञ्चित हुनुपर्दैन ।
यातायात व्यवस्था विभागका महानिर्देशक नमराज घिमिरेले नयाँ निर्देशिका लागू गर्नेबारे प्रदेशको भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सचिवहरुसँग छलफल गर्ने बताए ।
निर्देशिकाले लिखित परीक्षा विद्युतीय माध्यमबाट र प्रयोगात्मक परीक्षा कम्प्युटरमा आधारित स्वचालित प्रणालीको प्रयोग गरेर अंक दिनसक्ने गरी सञ्चालन गरिने बताए । नयाँ निर्देशिकाअनुसार विभागले परीक्षाका लागि ५०० वटा वस्तुगत प्रश्नको संग्रह सार्वजनिक गर्नेछ ।
त्यही संग्रहभित्रबाट २० वटा वस्तुगत बहुउत्तर प्रश्न सोधिनेछ । ३० मिनेटको परीक्षामा उत्तीर्ण हुन न्युनतम ७० अंक ल्याउनुपर्नेछ ।
साभार अनलाइनखबर