सोलुखुम्बु । नेपाली काँग्रेस सङ्गठन विभाग सोलुखुम्बुले २२ औँ राष्ट्रिय धान दिवस अर्थात् रोपाईं उत्सव भव्यताका साथ मनाउने भएको छ । ‘माटो, पानी र मेहनत, देश बन्नेछ समुन्नत’ भन्ने नाराका साथ आगामी असार १५ गते नेचासल्यान गाउँपालिकामा भव्यताका साथ रोपाईं उत्सव मनाउन लागेको हो ।
रोपाईंको परम्परा जोगाउन, उत्पादित धान प्राकृतिक प्रकोप पीडितलाई सहयोग गर्न साथै एकता, सहयोग र संस्कृतिलाई जोड्ने उद्देश्यका साथ रोपाईं उत्सव मनाउन लागेको नेपाली काँग्रेस सङ्गठन विभाग प्रमुख चन्द्र आचार्यले जानकारी दिनुभयो ।
कार्यक्रममा कृषक लगायत जिल्ला स्थित नेतृत्वहरूको सहभागितामा सामूहिक धान रोपाईं गरिने उहाँको भनाइ छ ।
यस्तै असार १५ विशेष दही चिउरा ग्रहण, रोपाइ गीत र पञ्चेबाजाका साथ परिश्रम, उत्पादन र शुद्धताको प्रतीकको रूपमा दही र चामलको टिका ग्रहण गरिने कार्यक्रम रहेको आयोजकले जनाएको छ ।
यो पनि पढ्नुहोस्
असार १५ अर्थात् राष्ट्रिय धान दिवस नेपाली किसानहरूको महत्त्वपूर्ण पर्व हो । नेपालका किसान सङ्घ–सङ्गठनहरूले यसलाई किसान दिवसको रूपमा लामो समयदेखि मनाउँदै आएका छन् । १५ वर्षअघि नेपाल सरकारले यस दिनलाई औपचारिक रूपमा धान दिवस घोषणा गरी मनाउन थालेपछि त यस दिनले थप चर्चा–परिचर्चा पाउने गरेको छ ।
धान एउटा यस्तो अचम्मको वनस्पति हो जुन पानीको अत्यन्त अभाव हुने मरुभूमिदेखि पानीले डुबेका सिमसार र समुन्द्र सतहदेखि ३ हजार मिटर उचाइको हिमालयको काखसम्म यसको खेती गरिन्छ । धान नेपाल र दक्षिण एसिया मात्र नभई पुरै एसिया महादेशको प्रमुख खाद्य वाली हो ।
विश्वको करिब ७ अरब जनसङ्ख्या मध्ये धानलाई आफ्नो मुख्य आहारका रूपमा प्रयोग गर्नेको सङ्ख्या ३ अरब बढी छ । विश्वभरिको खेतीयोग्य जमिनमध्ये करिब १४ करोड ६० लाख हेक्टर भूमिमा धान खेती गरिन्छ । जसमध्ये १० प्रतिशत जमिन अत्यन्त उर्वर रहेको छ । धान सम्बन्धी अध्ययनका अनुसार संसारभरमा गत वर्ष करिब ५३ करोड ५० लाख टन धान वार्षिक रूपमा उत्पादन भएको तथ्याङ्क प्रस्तुत गरिएको छ । संसारको कूल धान उत्पादनको ९१ प्रतिशत हिस्सा एसियामा मात्र उत्पादन हुने गर्छ ।
यसलाई अझै बढी विश्लेषण गरेर हेर्ने हो भने यस मध्येको ५५ प्रतिशत धानको उत्पादन चीन र भारतका किसानहरूले मात्र गर्दछन् । एसिया बाहेक क्युबा, अमेरिका, अफ्रिका र युरोपका विभिन्न देशमा पनि धान खेती गरिन्छ । यो एसियाको मुख्य बाली हो ।
एसिया धानको भण्डार हो । भारत, थाइल्यान्ड र भियतनाम प्रमुख निर्यातकर्ता हुन् भने चीन, नाइजेरिया, मेक्सिको, हाइटि आयात गर्ने राष्ट्र हुन् । एसिया बाहिर जम्मा उत्पादनको ९ प्रतिशत मात्र उत्पादन गरिन्छ । अफ्रिकाका म्याडागास्कर तथा सहारा आसपासको क्षेत्रमा पनि मुख्य खाद्य वाली धान हो ।
उत्पादकत्वका हिसाबले प्रतिहेक्टर जमिन ३.७७ टन उत्पादन गरिन्छ भने सन् २०१४ को तथ्याङ्कमा त्यस वर्षका २ धान भित्राउने समयमा गरी जम्मा ४७ करोड मेट्रिक टन धान उत्पादन भएको थियो ।
उत्पादनको हिसाबमा धान मकैपछि विश्वको धेरै उत्पादन गरिने वाली मानिन्छ तर खाद्यान्नमा पहिलो । चीनमा मात्र २० करोड मेट्रिक टन धान उत्पादन हुन्छ । तर खेतीका हिसाबले भारतको बढी भूमिमा धान खेती गरिन्छ । औसतमा विश्वका मानिसहरू ५७.५ केजी धान उपभोग गर्दछन् ।