काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले जेन–जी पुस्ताले आह्वान गरेको आजको प्रदर्शनका क्रममा भएको दुःखद् घटनाप्रति गहिरो दुःख व्यक्त गरेका छन् । प्रदर्शनका क्रममा विभिन्न स्वार्थ केन्द्रबाट भएको घुसपैठका कारण उत्पन्न परिस्थितिमा नागरिकले ज्यान गुमाउनुपरेको भन्दै उनले यसलाई ‘अत्यन्तै मर्माहत बनाउने घटना’ भनेका छन् ।
प्रधानमन्त्री ओलीले सरकार जेन–जी पुस्ताको मागप्रति संवेदनशील रहेको स्पष्ट पार्दै भने, “हामी मागलाई सुन्दै थियौं, तर घुसपैठीयाहरुले संवैधानिक संस्थाहरुका कार्यालयमा तोडफोड र आगजनी गरेपछि राज्यको सम्पत्ति जोगाउन बाध्य भएर सरकार कारबाहीमा उत्रियो।”
उनका अनुसार प्रदर्शनका आयोजक स्वयंले प्रदर्शन सफल भएको भन्दै आह्वान फिर्ता गरिसकेपछि मात्र तोडफोड र आगजनी गर्ने गतिविधि भएका थिए ।
प्रधानमन्त्री ओलीले सामाजिक सञ्जालसम्बन्धी विवादमा सरकारको कुनै पनि बेला सामाजिक सञ्जाल बन्द गर्ने नीति नरहेको दोहोर्याए । उनले सर्वोच्च अदालतको आदेशअनुसार दर्ता र सूचिकरणपछि मात्र सञ्चालन गर्न सकिने व्यवस्था कार्यान्वयनमा आएको बताउँदै भने, “हामी रोक्ने पक्षमा होइनौं, व्यवस्थित गर्ने पक्षमा हौं । सूचिकरण हुनासाथ सामाजिक सञ्जाल सञ्चालन हुनेछ ।”
आजको घटनामा ज्यान गुमाएका नागरिकप्रति श्रद्धाञ्जली अर्पण गर्दै उनले मृतक परिवारलाई उचित राहत र घाइतेको निःशुल्क उपचारको व्यवस्था हुने घोषणा गरे । साथै, सम्पूर्ण घटनाक्रम, क्षति र कारणको छानबिन गरी आगामी दिनमा यस्ता दुर्घटना रोक्न सिफारिससहित १५ दिनभित्र प्रतिवेदन पेस गर्ने गरी छानबिन समिति गठन गर्ने विश्वास दिलाए ।












Discussion about this post