काठमाण्डौँ । सरकारले असोज १५ देखि खाडीका तीन देशमा नियमित उडान सञ्चालन गर्ने जनाएको छ । १ अक्टोबर देखि साउदी अरेबियाको रियाद, कतारको दोहा र कुवेतमा नियमित उडान सञ्चालन गर्ने भएको छ ।
पर्यटन मन्त्रालयका सचिव केदारबहादुर अधिकारीका अनुसार यसअघि चार्टर्ड उडानमात्र भएका तीन गन्तव्य रियाद, दोहा र कुवेतमा अब नियमित उडान हुने भएको हो ।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले खाडीका देशबाट नियमित उडानका लागि अक्टोबर महिनाको उडान सार्वजनिक गरेको छ । मन्त्रालयले यसअघि सेप्टेम्बर महिनाका लागि उडान तालिका सार्वजनिक गरेको थियो ।
यी देशबाट हुने अन्तर्राष्ट्रिय उडानको तालिका नियामक नेपाल नागरिक उड्डयन प्राधिकरणले बनाएको छ ।
उडान तालिकाअनुसार २५ दिनका लागि सातामा कूल औसत १०९ वटा उडान हुने गरी उडान तालिका तय भएको छ । अक्टोबर महिनाका लागि दैनिक १५ वटासम्म उडान अनुमति दिइएको छ । थप भएको उडान तालिकाअनुसार दोहामा नेपाल एअरलाइन्सका न्यारोबडी र वाइडबडी जहाज र हिमालय एअरलाइन्सले उडान भर्नेछन् ।
कुवेतबाट जजिरा एअरवेजले उडान गर्नेछ भने रियादबाट हिमालय एयरलाइन्सले नियमित उडान गर्ने जनाइएको छ ।
यसअघि भदौ १६ देखि शुरु भएको अन्तर्राष्ट्रिय उडानमा पीसीआर परीक्षण सहज नभएकाले यी देशमा नियमित उडान भएको थिएन । अहिले चार्टर्ड र उद्धार उडानमात्र भइरहेको छ ।