सोलुखुम्बु । वित्तीय कर्मचारी मञ्च सोलुखुम्बुद्वारा आयोजित ब्याडमिन्टन प्रतियोगिताको तयारी पूरा भएको छ । ब्याडमिन्टन खेलको विस्तार गर्ने उदेश्यले आयोजित प्रतियोगिता माघ २३ र २४ गते सल्लेरी ब्याडमिन्टन कवर्ड हलमा संचालन हुँदैछ ।
दुई दिनसम्म संचालन हुने खुला पुरुष ब्याडमिन्टन प्रतियोगितामा ३२ टिमले नाम दर्ता गराएको कर्मचारी मञ्च सोलुखुम्बुका प्रवत्ता पुष्प श्रेष्ठले जानकारी दिनुभयो । खेलाडिहरुले उत्साहजनक सहभागीता जनाएको बताउनुहुदै प्रवक्ता श्रेष्ठले शुभकामना समेत दिनुभयो । उहाँले कोरोना भाइरस नियन्त्रणका लागि सरकारले बनाएको नियमलाई आत्मसाथ गर्दै प्रतियोगिता सञ्चालन गरिने जानकारी दिनुभयो । बिहान १० बजे सुरु हुने प्रतियोगिता सोलुखुम्बुका प्रमुख जिल्ला अधिकारी गणेश बिक्रम साहिको प्रमुख आतिथ्यमा हुने भएको छ ।
प्रवत्ता श्रेष्ठका अनुसार प्रतियोगिताको विजेता जोडीले २० हजार रुपैयाँको साथमा मेडल र प्रमाण पत्र प्राप्त गर्नेछन । उपविजेता जोडीले १५ हजार रुपैयाँको साथमा मेडल र प्रमाण पत्र पाउँदा सेमी फाइनलसम्म पुग्ने दुई जोडीले १० हजार रुपैयाँ नगदको साथमा मेडल र प्रमाण पत्र प्राप्त गर्नेछन् । साथै उत्कृष्ट खेलाडिहरुलाई पनि पुरस्कारको व्यवस्था गरिएको आयोजकले जनाएको छ ।
तस्बिर : पुष्प श्रेष्ठ