सोलुखुम्बु । सोलुखुम्बुको नेचासल्यान गाउँपालिका गौरीटापमा पहिलो पटक जिपलाईन सञ्चालनमा आएको छ । नेचासल्यान गाउँपालिकाले पर्यटन प्रवद्र्धन गर्ने उद्धेश्यले समुद्री सतहभन्दा करिव तीन हजार मिटर उचाइमा अवस्थित पर्यटकीय स्थल पत्तालेको सिमाना गौरीटापमा जिपलाइन निर्माण गरी सञ्चालन गरेको हो ।
आन्तरिक तथा बाह्य पर्यटकलाई जिल्ला भित्रयाई नागरिकको आयआर्जनमा वृद्धि गर्न, छिमेकी जिल्ला र छिमेकी स्थानीय तहमा समेत पर्यटन प्रवद्र्धनमा सघाउ पुरयाइ ग्रामिण पर्यटनमा टेवा पुरयाउने उद्धेश्यका साथ पर्यटकीय क्षेत्रको पूर्वाधार निर्माण गरिएको नेचासल्यान गाउँपालिका अध्यक्ष धनजन राईले जानकारी दिनुभयो ।
नेचासल्यान गाउँपालिकाको ८० लाख रुपैयाँ लागतमा साहसिक खेल जीप लाइन, साइक्लिङ, स्वीमिङ, क्लाम्बिङ र भ्यू पोइन्ट गरी पाँच प्रकारका मनोरञ्जन स्थल निर्माण गरिएको गाउँपालिका उपाध्यक्ष विना राईको भनाइ छ ।
योजना निर्माणका लागि कालिका निर्माण सेवासँग गाउँपालिकाले २०८२ साउन ११ गते सम्झौता गरेको नेचासल्यान गाउँपालिका पूर्वाधार विकास शाखाका इन्जिनियर सुजन शर्माले जानकारी दिनुभयो । उहाँका अनुसार ०८२ चैत्रमा योजना सम्पन्न गर्ने लक्ष्य अनुसार योजना सम्पन्न गरी नयाँ वर्षको अवसर बनाएर यहि २०८३ वैशाख १ गते गाउँपालिकालाई हस्ताण्तरण गरी ५५० मिटर लम्बाई रहेको जिपलाईनको उद्धघाटन गरिएको हो ।
गाउँपालिका अध्यक्ष धनजन राईले उद्धघाटन गर्नुभएको जिपलाईनमा वैशाख १ गते नयाँ वर्षको दिन परिक्षणका लागि सञ्चालन गरिएको थियो । सो दिन एक सय जना बढिले साहसिक खेल जिपलाईन खेलेर मनोरञ्जन लिएका थिए ।
नेचासल्यान गाउँपालिका वडा नम्बर १ गौरीटाप र सोलुदुधकुण्ड नगरपालिका वडा नम्बर ८ पत्तालेको सीमानामा पर्ने गौरीटापमा निर्माण गरि वैशाख १ गते देखि सञ्चालनमा आएको जिपलाईनलाई नियमित रुपमा सञ्चालन गर्न ठेक्का आह्वान गरी आधिकारीक संस्थालाई जिम्मा दिने गाउँपालिकाले जनाएको छ । नियमित सञ्चालन पश्चात कुल आम्दानीको ७० प्रतिशत स्थानीय तह र ३० प्रतिशत भेडिखोर सामुदायिक वनलाई रकम जाने गाउँपालिकाले जनाएको छ ।
सोलुखुम्बुको पत्ताले र गौरीटाप क्षेत्रबाट सगरमाथा लगायत विभिन्न मनमोहक हिमश्रृंखलाहरु हेर्न वा देख्न सकिन्छ । सो क्षेत्र हाल पर्यटकिय हब बनेको छ ।












Discussion about this post