काठमाडौं । म्यानमारको सेनाले हवाई आक्रमण सुरु गरेसँगै म्यानमारको दक्षिणपूर्वी राज्य करेनका करिब तीन हजार मानिसहरु भागेर थाइल्याण्ड पुगेका छन् ।
आइतबार म्यानमारको सेनाले अन्त्येष्टिमा गएका मानिसहरुमाथि पनि गोली चलाएको थियो । धार्मिक सशस्त्र समुहको नियन्त्रणमा रहेको यो क्षेत्रलाई लक्षित गरी सेनाले आइतबार हवाइ आक्रमण शुरु गरेकोपछि मानिसहरु सुरक्षित रहनका लागि जंगलमा लुक्न गएका थिए ।
उनीहरुमध्ये करिब तीन हजार मानिसहरु अहिले शरण खोज्दै थाइल्याण्ड पुगेका हुन् । म्यानमारमा अहिले सेनाविरुद्धको आन्दोलन निरन्तर चलिरहेको छ । उक्त आक्रमणको सेनाले बर्बर दमन गरिरहेको छ ।
एसिस्टेन्स एसोसिएसन फर पोलिटिकल प्रिजनर्स (एएपीपी) का अनुसार आइतबार म्यानमारमा सुरक्षाकर्मीबाट थप १३ प्रदर्शनकारी मारिएका छन् । एएपीपीका अनुसार म्यानमारमा अहिलेसम्म सेनाविरुद्धको आन्दोलनमा ४५९ जनाको मृत्यु भइसकेको छ भने २५ सयभन्दा धेरै मानिसहरु पक्राउ परेका छन् ।
अहिलेसम्म थाइल्याण्डले भने म्यानमारबाट आएका शरणार्थीको विषयमा केही बताएको छैन ।
शनिबार म्यानमारमा एकैदिन आन्दोलनको क्रममा ११४ जनाको मृत्यु भएको छ ।
source onlinekhabar