सोलुखुम्बु । यस वर्षको एसइई परीक्षामा सगरमाथाको काखमा अवस्थित खुम्जुङ माध्यमिक विद्यालय खुम्बु पासाङल्हामुका विद्यार्थी छिरिङ ङिमा शेर्पाले उच्च अङ्क लिएर सोलुखुम्बु टप गर्न सफल हुनुभएको छ ।
छिरिङ ङिमाले जिल्लाका एक हजार ६ सय ५८ जना विद्यार्थीहरूलाई पछि पार्दै ३.९० जिपिए प्राप्त गरी सोलुखुम्बु टप गर्न सफल हुनुभएको हो ।
खुम्बु पासाङल्हामु गाउँपालिकाबाट खुम्जुङ माध्यमिक विद्यालय खुम्जुङबाट २९ जना, खरीखोला माध्यमिक विद्यालयबाट १२ जना र महेन्द्र ज्योति माध्यमिक विद्यालयबाट ३३ जना गरी ३ वटा विद्यालयका कुल ७४ जना विद्यार्थीहरू यस वर्ष २०८१ सालको एसइई परीक्षामा सहभागी थिए ।
खुम्जुङ माध्यमिक विद्यालय खुम्जुङ र खरीखोला माध्यमिक विद्यालयका शतप्रतिशत र महेन्द्र ज्योति माध्यमिक विद्यालयको ९३.९४ प्रतिशत उत्तीर्ण भएको जनाइएको छ । पालिकाको कुल उत्तीर्ण प्रतिशत ९७.३० रहेको विद्यालयले जनाएको छ ।
खुम्बु पासाङल्हामु गाउँपालिका अध्यक्ष मिङमा छिरी शेर्पाले एसइई मा उत्कृष्ट विद्यार्थी छिरिङ ङिमा शेर्पा लगायत उत्तीर्ण सम्पूर्ण विद्यार्थीहरूलाई बधाई ज्ञापन गर्दै सम्पूर्ण अभिभावक, विद्यार्थी लगायत शैक्षिक क्षेत्रमा सहकार्य गर्ने सम्पूर्ण सङ्घ संस्थाहरूलाई धन्यवाद व्यक्त गर्नुभयो ।
गत वर्ष २०८० को एसइई मा खुम्जुङ माध्यमिक विद्यालयका विद्यार्थी खाम्सु वाङडु शेर्पाले जिल्लामा कुल १६६५ जनालाई पछि पार्दै जिल्ला टप हुनुभएको थियो । खाम्सु वाङडुले ३.९० जिपिए प्राप्त गर्नुभएको थियो ।
एसइई परीक्षामा खुम्जुङ माध्यमिक विद्यालय निरन्तर दुई वर्ष उत्कृष्ट हुन सफल भएको छ ।
सोलुखुम्बु जिल्लाको ५२ विद्यालयका कुल एक हजार ६ सय ५८ जना विद्यार्थी सहभागी भएकामा १५४८ जना उत्तीर्ण भएको शिक्षा विकास तथा समन्वय इकाई सोलुखुम्बुले जनाएको छ ।
यस्तै शिक्षा विकासका अनुसार जिल्लामा जन कल्याण माध्यमिक विद्यालय जुबु दोस्रो र सोलुदुधकुण्ड नगरपालिका वडा नम्बर ११ सिंह काली माध्यमिक विद्यालय तेस्रो भएको छ ।












Discussion about this post