dudhkoshionline
  • गृहपृष्ठ
  • समाज
  • समाचार
  • कला/मनाेरञ्जन
  • प्रवास
  • हिँडदाहिँड्दै
  • खेलकुद
  • विचार
No Result
View All Result
dudhkoshionline

‘सङ्गीतमा डुबुल्की मार्दा मनमा शान्ति हुन्छ’

दूधकाेशी अनलाइन by दूधकाेशी अनलाइन
2020-08-29
in कला/मनाेरञ्जन
Share on FacebookShare on Twitter

पोखरा । “करोडौँ मुटुहरुको एउटै ढुकढुकी नेपाल ।” नवराज कार्कीका शब्दमा प्रसिद्ध गायक सरोजगोपाल बज्राचार्यले सङ्गीत दिएको यो कर्णप्रिय गीतकी गायिका हुन् बाबा राणा । मधुर स्वरकी धनी राणा नेपाली सङ्गीत आकासकी एक अब्बल साधकको नाम हो ।
नौ वर्षको उमेरदेखि गायनप्रतिको लगावले गीतसङ्गीत क्षेत्रमा पहिचान बनाउन सफल गायिका राणाले यी राष्ट्रभावका मात्र नभएर प्रेम र विछोडका समेत थुप्रै गीत गाएकी छिन् । उनले नेपाली सङ्गीत क्षेत्रमा ठूलो योगदान गरेकी छिन् ।

रचना, सङ्गीत र लयको त्रिवेणीबाट कालजयी गीतहरु पस्कन सफल राणाको सङ्गीतप्रतिको पृष्ठभूमि खोज्दै जाने हो भने उहाँको पारिवारिक योगदानसम्म नै पुग्न सकिन्छ । उनका बुबा, ठूलो बुबा र सानो बुबाले घरमा हुने कार्यमा रामायण पढ्दा तबला, मादल, हार्मोनियम तथा यस्तै बाजा बजाउने गर्थे । उनका कान्छो बुबा रामचन्द्रविक्रम राणा सङ्गीत प्रशिक्षक थिइन् । राणा घरको यो साङ्गीतिक वातावरणले नै आफू पनि सङ्गीतप्रतिको यात्रामा सानैदेखि जोडिन पुगेको अनुभव बाबा राणा सुनाउछिन् ।

पुष्प नेपाली, नारायण गोपाल, बच्चुकैलाश, तारादेवी र अरुणा लामाका गीत उनले ती गीतका गायकगायिका नचिन्दैदेखि गुन्गुनाउने गरेको सुनाउछिन् । बाल्यकालमा गुनगुनाएका गीतमा स्मरणमा भएसम्म पुष्प नेपालीको ‘शीतल माथि नि शीतल भो नि, लौ लौ बरको छायाँले ।’ तारादेवीको ‘जुन निदाउन तारा निदाउन’, नारायणगोपालको ‘तिम्रो जस्तो मुटु मेरो पनि, तिमी जस्तो माया मेरो पनि’ हुन् ।

झ्यालमा झुण्डिएको एउटा सानो रेडियोमा कति धेरै मान्छेले मिलेर गीत गाए होलान् भन्ने बालापनको सोचबाट गीतसङ्गीतप्रतिको धुनमा उनी लाग्न थालेकी हुन् । बुबा कर्णेल धनविक्रम र आमा भीमकुमारी राणाकी छोरी उनको जन्म पाल्पा जिल्ला तानसेनको सिल्खान टोलमा भएको हो । जन्मिएको एक वर्षमै पोखरा आएकी राणा पोखरा– १ मिरुवामा हुर्कीइन् ।

पोखराको माटोबाट सङ्गीतको सुगन्ध चारैतिर छर्न सफल उनी कालजयी गीतका सर्जक छिन् । कर्णेल पितालाई भेट्न पोखराको विजयपुरको सैनिक क्याम्पमा जाँदा बुबाको कोठामा झ्यालमा झुण्डाएर राखिएको रेडियो खोलेर ‘लर्के जोवन गएन माया नलाइ भएन, चौतारीमा मायालु नबसी भएन ।’ गीत गाउँदै नाचेको उनलाई अझै स्मरणमा आउँछ । उनको पहिलो रेकर्ड भएको गीत ‘डम डम डम्फु बजेको तालैमा’ हो । विसं २०२८ मा रेडियो नेपालमा जाने अवसर मिलेसँगै उनको सङ्गीत साधनाले गोरेटो बाटो पहिल्यायो । पछि त्यही गोरेटोले उनलाई नेपाली सङ्गीत क्षेत्रको राजमार्गमै पुर्यो ।

अहिले पनि सङ्गीत साधनामै व्यस्त राणा, उमेरले सात दशक ढल्कदा पनि उहाँको सङ्गीतप्रतिको ऊर्जा र उत्साहमा कमी आएको छैन । “मेरो रगतको नशा नशामा गीत सङ्गीत बगेको छ, मलाई गीतका लयमा डुबुल्की मार्दा मानसिकरुपमा शान्तिको अनुभूति हुन्छ, म गाउँछु अझै ।” हार्मोनियम बजाउँदै उनले भनिन् । जीवनका उत्तराद्र्धहरुमा पनि अब गीत सङ्गीतमै जीवन गुजार्ने सोच छ उहाँको ।

पोखरा महानगरपालिका वडा नं १ बागबजार निवासी राणा वरिष्ठ गायक स्व सरोजगोपाल बज्राचार्यकी पत्नी हुन् । गायिका भएर नै आफ्नो जीवन साथीका रुपमा गायक सरोजगोपाललाई रोज्नुभएको हो ? भन्ने प्रश्नमा उनले हाँस्दै जवाफ दिइन् – होइन । “उहाँसँगको भेट एउटा संयोग थियो, कतिपय अवस्थामा सँगसँगै गीत गाउँथ्यौँ, तर उहाँको स्वरलेभन्दा पनि स्वभावले मेरो मन जित्यो ।” उनले जीवनका शुरुआती दिनहरुलाई सम्झँदै भनिन्, “उहाँसँग कहिले र कसरी भेट भयो भन्ने नै थाहा पाइन, यसमा पोखराका ‘प्रोग्राम अर्गनाइजर’ (कार्यक्रम आयोजक) को भूमिका छ । मेरा बुबाले पनि कतिपय क्याम्पमा हुने साङ्गीतिक कार्यक्रममा बाबा सरोजलाई बोलाउ भन्नुहुन्थ्यो । तत्कालीन समयमा हुने साङ्गीतिक कार्यक्रममा हामी सँगैसँगै हुन्थ्योँ ।” उहाँलाई कहिले कुन सालमा भेटेँ त्यति सम्झना छैन ।”

सरोजगोपालले एकपटक हाइस्कुलमा शान्ति शाह, बच्चुकैलाशको ‘कल्पना गगन, मुस्कुराउने चन्द्रवदन, कहिले होला त्यो दिन जब होला मिठो मिलन’ भन्ने गीत गाएको भने राणाको मस्तिष्कमा अझै ताजा छ । राणाले २५ वर्षको उमेरमा सरोजगोपालबाट प्रेम प्रस्ताव आएको र त्यससँगै प्रेमिल गोरेटोबाट सङ्गीत क्षेत्रको यो जोडी बनेको अनुभव सुनाइन् । “उहाँले प्रेम प्रस्ताव राख्ने बेलासम्म मैले प्रेमकाबारे सोचेको रहेनछु, उहाँको प्रस्तावपछि बल्ल प्रेमको अनुभूति गरेँ ।”

विवाहका सन्दर्भमा उनले भनिन्, “प्रेम प्रस्तावको एक/दुई वर्षमै विवाह भयो । हाम्रो अन्तरजातीय विवाह थियो । विरोध त त्यति भएन, बुबाले फरकफरक जातका तीन वटा श्रीमती बिहे गर्नुभएको थियो, तर बुबाको आफूले रोजेको केटासँग विवाह गराउने चाहाना रहेको पछि थाहा पाएँ ।”

बिहे गरेर भागेर जाँदा विजयपुर खोला तरेर पारी पुगेपछि रोकिएको पल अझै सम्झन्छिन् । सरोज गोपालको एउटा गीत पनि छ ‘देउराली उकाली चढेर, विजयपुर खोला तरेर’ राणा सम्झन्छिन् । “हामी विजयपुर खोला तरेर नजिक एक होटलमा बस्यौँ र १५ दिन पछि फर्केर पोखरा आयौँ । सरोजको साथी करोडौँ मुटुको गीतका रचनाकार नवराज कार्कीले अभिभावकीय जिम्मेवारी पूरा गर्दै हाम्रा लागि कोठा भाडामा लिएर एक महिना पुग्ने रासनसहित व्यवस्था गर्नुभएको रहेछ ।”

तत्कालीन समयमा राणा महिला प्रशिक्षण केन्द्रमा सांस्कृतिक प्रवन्धकको रुपमा कार्यरत थिइन् भने सरोजगोपाल पुरुष प्रशिक्षण केन्द्र (नगर प्रशिक्षण केन्द्र) मा कार्यरत थिए । दुवैले २१ वर्षको जागिरे जीवन उपादान लिएर छोडेका थिए । सरोजगोपालले पछि नेपाल टिभी र रेडियो नेपालमा पनि पाँच वर्ष काम गरे ।

पतिलाई सम्झँदै राणाले भनिन्, “धेरै खुशी साट्न बाँकी नै थियो, साङ्गीतिक सहयात्रामा सँगसँगै निकै दूरको यात्रा पार गरौँला भन्ने थियो, मलाई छोडेर एक्लै जानुभयो”, राणाले भावुक हुँदै भनिन्, “बाँकी दिनहरु सङ्गीत साधनामा रमेर उहाँकै यादमा बिताउँछु ।” राणाले सरोजगोपालको निधनपछि उनको सम्झनामा ‘सपना मेरो अधुरै भयो, खोज्दा खोज्दै हराएँ म’ भन्ने आधुनिक गीत रेकर्ड गराइसकेकी छिन् ।

सरोजगोपालका ८० भन्दाबढी गीत रेडियो नेपालमा रेकर्ड छन् तर उनको जीवनकालमा एल्बम भने निकाल्न पाएनन् । सरोजगोपालको गीत रेकर्डको एक प्रसङ्गमा उनले भनिन् “२०७१ सालतिर हो ‘लुम्लेको कविता गाउँ’ भन्ने एक कार्यक्रममा विम्ब कवि रमेश श्रेष्ठसँग ‘अब उकाली पनि उक्लन्छु, देउराली पनि झर्छु, नक्कली भगाइलान्छु भन्ने रेकर्ड गर्छु’ भन्नुभएको थियो तर दुर्भाग्य त्यसको एक महिनामा उहाँको निधन भयो ।” सरोजगोपालको ६४ वर्षको उमेरमा विसं २०७१ श्रावण २९ गते निधन भएको हो । नेपाली लोक गायनको क्षेत्रका प्रतिभाशाली गायक तथा सङ्गीतकार बज्राचार्यसँग परम्परागत लोक सङ्गीत र ठेट गीतलाई आधुनिकतासँग जोड्न सक्ने कला पाइन्थ्यो ।

विसं २०६४ जेठ ४ गते सङ्गीत प्रशिक्षण केन्द्र पोखराको आयोजनामा ‘सरोजगोपाल र बाबा राण युगल साँझ’ को आयोजना गरिएको थियो । जसमा सरोज र बाबाले झण्डै दुई दर्जनभन्दा बढी गीत गाउनुभएको थियो । राणाका ‘साइको घर कहाँ हो कहाँ,’ ‘बिर्सिजाने निष्ठुरी’, ‘हे आमा जन्मायौ किन’, ‘करौडौँ मुटुहरुको’ बहुचर्चित गीत छन् भने उनले लोक, आधुनिक, राष्ट्रिय गीत, भजन आदि गरेर दुई सयभन्दा बढी गीत रेकर्ड गराइसकेका छन् । उनका ‘भिजेको परेली’ एल्बम र ‘सांस्कतिक ज्ञान’ तथा ‘गाउँदा गाउँदै यहाँसम्म’ प्रकाशित कृति हुन् ।

राणाको सङ्गीतप्रतिको रुचि देखेर तत्कालीन रानी ऐश्वर्या राज्यलक्ष्मी शाहले बरोडामा साङ्गीतिक अध्ययनका लागि वृत्ति समेत प्रदान गरेकी थिइन् । तर दुई वर्षकी छोरी भएकाले बाबा राणाले त्यो अवसर गुमाउन पुगिन् । राणाले रेडियो नेपालबाट आयोजना गरिएको राष्ट्रव्यापी आधुनिक गीत प्रतियोगितामा नवोदित गायिकातर्फ २०२९ सालमा प्रथम भई स्वर्ण पदक प्राप्त गरेकी छिन् । तत्कालीन समय रानी ऐश्वर्या र राजा वीरेन्द्रबाट नगद पुरस्कार पनि प्राप्त गर्न सफल भएकी छिन् । नेपाली गीत सङ्गीतको उन्नयनका लागि योगदान पुर्याए बापत उनलाई एक दर्जनभन्दा बढी सङ्घसंस्थाबाट सम्मान एवं पुरस्कार प्राप्त भएको छ ।

राणाका एक छोरा र एक छोरी छन् । उनी आफ्नै निवास पोखरा–१ बगरमा छोरा बुहारी र नाति नातिनीको साथमा सङ्गीत साधनामै लागिरहेकी छिन् । हार्मोनियम बजाउँदै सरोजगोपालका तस्वीर र सम्मानले भरिएको कोठामा उनले हरेक दिन उनलाई सम्झँदै साङ्गीतिक शब्दबाट श्रद्धाञ्जलि अर्पण गर्दै आएकी छिन् ।

Previous Post

‘लक्ष्य जिन्दगीको’ काे शुभमुहूर्त

Next Post

काेराेनाका कारण विदेशमा ज्यान गुमाउने नेपालीकाे संख्या १८९ पुग्याे

Related Posts

कला/मनाेरञ्जन

“यस्तो खुशी–२” सार्वजनिक (भिडियो)

2025-09-28 - Updated on 2025-09-29
कला/मनाेरञ्जन

गायिका सीता राईको ‘जुनेली देख्दा’ सार्वजनिक (भिडियो सहित)

2021-04-14
कला/मनाेरञ्जन

गायक जनम थुलुङको ‘रोक्नी वो च्योमिम्’ गीत सार्वजनिक

2021-03-11
कला/मनाेरञ्जन

चलचित्र मारुनी युट्वमा सार्वजनिक

2021-03-11
कला/मनाेरञ्जन

शुक्रबारदेखि सिनेमा हल खुल्ने

2020-12-25
कला/मनाेरञ्जन

केशव गिरीकोे ‘बालो जोवन’ सार्वजनिक (भिडियो सहित)

2020-12-13

Discussion about this post

ताजा समाचार

विगतका नजिरको आधारमा संसद् पुनस्र्थापना हुन्छ: शंकर पोखरेल

2025-11-03

थुलुङ दुधकाेशी १ नेले का ४४९ जनालाई राष्ट्रिय परिचयपत्र वितरण

2025-10-31

कार्तिक १५ मा एमाले सचिवालय बैठक

2025-10-28

नवनियुक्त दुई मन्त्रीले लिए शपथ

2025-10-26

भाषा, संस्कार संरक्षणमा ‘थुलुङ राई सामा’को जोड

2025-10-11

बढी पढिएका समाचार

  • “यस्तो खुशी–२” सार्वजनिक (भिडियो)

    7 shares
    Share 3 Tweet 2
  • एकता सम्बन्धि विद्धानहरुका भनाईहरु

    6 shares
    Share 2 Tweet 2
  • खुम्बु: एकीकृत सेवाको पहिलो दिन १५३ जनाले लिए सेवा

    6 shares
    Share 2 Tweet 2
  • थुलुङ दुधकाेशी १ नेले का ४४९ जनालाई राष्ट्रिय परिचयपत्र वितरण

    6 shares
    Share 2 Tweet 2
  • सोलुखुम्बुमा ३७ करोड रकम बढी फ्रिज

    6 shares
    Share 2 Tweet 2

☏ सम्पर्क

✔ दूधकोशी मिडिया प्रा.लि.
∞ थुलुङ दूधकोशी गाउँपालिका ६, सोलुखुम्बु
✆ फोन : ९८१८५७३१५८
✉ इमेल : dudhakoshionline@gmail.com

टीम

अध्यक्ष : पार्बुङ राई
सम्पादक : दृश्य राई

सामाजिक सञ्जालमा हामी

© Dudhkoshi Media Pvt. Ltd 2020 - All Right Reserve ।। powered by : IT Karkhana । आईटी कारखाना.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाज
  • समाचार
  • कला/मनाेरञ्जन
  • प्रवास
  • हिँडदाहिँड्दै
  • खेलकुद
  • विचार

© Dudhkoshi Media Pvt. Ltd 2020 - All Right Reserve ।। powered by : IT Karkhana । आईटी कारखाना.