काठमाडौँ । सरकारमा जाने कि नजाने भन्ने विषयमा सरकार र जनता समाजवादी पार्टी (जसपा) बीच शुक्रबार पनि वार्ता हुँदै छ । कार्यदलका सदस्य लक्ष्मणलाल कर्णका अनुसार प्रधानमन्त्री निवास बालुवाटारमा दिउँसो ४ बजे कार्यदलस्तरको बैठक बस्न लागिएको हो ।
प्रधानमन्त्री केपी शर्मा ओलीसँग भएको छलफल सकारात्मक भएकाले आज थप गृहकार्य गरेर टुङ्गोमा पुग्न कार्यदलको बैठक बस्न लागिएको उहाँको भनाइ छ । जसपाले कर्ण र सर्वेन्द्रनाथ शुक्ल सदस्य रहने गरेर दुई सदस्यीय कार्यदल बनाएको हो ।
संसदीय दलको विधान छलफलपछि पारित गर्ने र संसदीय दलको नेता चयन गर्ने आजका बैठकका एजेन्डा रहेका छन् । गत वैशाख १० गते राजपा र समाजवादी पार्टीको एकतापछि नाम जसपा राखिएको थियो। त्यसबेला उपेन्द्र यादव र बाबुराम भट्टराई नेतृत्वको समाजवादी पार्टीले राजपासँग एकीकरण गरेको थियो। जसपाले निलम्वित सांसद टीकापुर घटनामा दोषी ठहर रेशम चौधरीको मुद्दा फिर्ता र रिहाइ तथा मधेस आन्दोलनका मुद्दा फिर्ता, संविधान संशोधन लगायतका सर्त राख्दै आएको छ ।
आफ्ना माग सम्बोधनका लागि जसपाले कर्ण र सर्वेन्द्रनाथ शुक्ल सदस्य रहेको कार्यदल गठन गरेको छ । सरकारको तर्फबाट अर्थमन्त्री विष्णु पौडेल, एमाले संसदीय दलका उपनेता सुवास नेम्वाङ र प्रधानमन्त्रीका परराष्ट्र मामिला सल्लाहकार डा. राजन भट्टराई कार्यदलमा छन् । प्रधानमन्त्री ओलीलाई सरकार टिकाइ राख्न थप १८ सांसद आवश्यक पर्दछ । निलम्वितबाहेक ३२ सांसद रहेका जसपाको एउटा खेमालाई भए पनि साथ लिने रणनीतिमा ओली छन् ।
Photo Setopati