गार्डेन राई ।
करिब दुई महिनाअघि । मेरी मिल्ने साथी सिर्जना र म न्युरोड गयौँ । काम– सपिङ ।
सपिङका लागि भनेर गएका हामी सपिङभन्दा बढी चाहिँ घुमफिर गर्दै गफिनमा बितायौँ । यसै पनि केही सामान किन्न भनेर बजार गइयो भने सामान किन्ने समयभन्दा बढी घुमेरै बित्छ । त्यस दिन त हामी दुई बेस्टी सँगै थियौँ ।
बजारमा घुम्दै गर्दा सिर्जनाको मोबाइलको घन्टी बज्यो ।
न्युरोडको ठाउँ । भीडभाड उत्तिकै थियो ।
दुई–तीन पटक हेल्लो भनिसक्दा पनि उताको आवाज सुन्न सकिन, सिर्जनाले ।
उसले मोबाइल लाउडस्पिकरमा राखी । अब बल्ल उताको आवाज केही क्लियर भयो । फोन उसकै दाइले गरेको रहेछ ।
काँ’छेस् ?
म न्युरोड, सामान लिनु थियो, अनि…
त्यहीँ छ त, सधैँ राख्ने ठाउँमा ।
खै मैले भेटिनँ…
ह्या… राम्ररी हेर् न । त्यै ढोकाबाहिरको र्याकको जुत्तामै छ ।
खै कुन चैं जुत्तामा राखिस् त… अघिदेखि खोजेको भेटिनँ ।
तेरो पुरानो जुत्तामा छ हौ । कस्तो दिक्क लाको ? तीँ भाको चाबी पनि भेट्दैन ।
ए, ल ल भेटेँ । सधैँ राखेको जुत्तामा भए अघि भेट्थेँ…
चाबहिलमा बस्ने मेरी साथी सिर्जना र उसको दाजुबीच भएको फोन संवाद हो यो ।
0000
उनीहरूको संवाद सुनिरहँदा म भने मुसुमुसु हाँसिरहेकी थिएँ ।
फोन राखेपछि सिर्जनाले सोधी– किन हाँसेकी ?
किन पनि होइन…
बिनाकारण कोही किन हाँस्छ हौ ? अचम्म छ यार…
तिमीहरू दाजुबहिनीबीचको कुरामा मन थाम्न सकिनँ । त्यै भ’र…
लौ… त्यस्तो हाँसो लाग्ने के कुरा गरेँ हौ मैले… फोनमा ?
त्यही हौ, कोठाको चाबी जुत्तामा राख्ने कुराले…
त्यसपछि भने हामी दुवै जना जोडले हाँस्यौँ…
०००
सिर्जनाजस्तै प्रायः म पनि कोठाको चाबी ढोकाबाहिरको जुत्ताभित्रै राख्छु । उनीहरू त दुई जना बस्थे, एक जना बाहिर जाँदा अर्कालाई सजिलो होस् भनेर होला ।
तर म त एक्लै बस्छु । कोठाबाट निस्किएपछि म नफर्किउन्जेल कसैलाई मेरो कोठा जानुपर्दैन । तैपनि म पनि म चाबी जुत्तामै राखेर निस्किन्छु ।
कतै जान पर्यो भने ढोकामा ताल्चा लगाएर चाबी चाहिँ जुत्ताभित्र घुसाइराखेर हिँड्ने चलन छ– धेरै जनाको ।
हुन त एउटा सानो चाबीले झोला गह्रौँ हुने पनि होइन । तर पनि खै किन हो चाबी जुत्ताभित्रै राख्न मन लाग्छ ।
ढोकामा ताला लगाइसकेपछि चाबी झोलामा राख्नुको सट्टा हात सिधै बाहिर राखिएको जुत्ताभित्र नै जान्छ ।
एकदिन जोरपाटी बस्ने पशी शेर्पाको रुममा गएकी थिएँ । म पुग्दा उनी रुममा थिइनन् ।
कल गरेँ ।
म तरकारी किन्न बाहिर निस्केकी छु… बाहिर जुत्ताभित्र चाबी छ । ढोका खोलेर बस्दै गर् है– उनको उत्तर आयो ।
यसो हेरेँ– चार–पाँच जोर जुत्ता लहरै थिए । अब कुन जुत्ताभित्र छ, पत्ता लगाउन सबै जुत्ता उचाल्दै हेर्दै गरेँ । अलि पुरानो जुत्ताभित्र चाबी भेटियो ।
एकछिनपछि पशी रुम आइपुगिन् । कुरैकुरामा मैले सोधेँ– तिमी किन चाबी जुत्ताभित्रै राख्ने गर्छौ ? अनि त्यो’नि पुरानै जुत्तामा चाँहि किन नि ?
उनले हाँस्दै भनिन्– सजिलो हुन्छ नि त । पुरानो जुत्तामा चाँहि अरुले हत्तपत्त शङ्का पाउँदैनन् भनेर ।
दुईजनाको ठूलो हाँसोले कोठा भरिन्छ ।
०००
यसरी हेर्ने हो भने जुत्ता र चाबीबीच प्रगाढ सम्बन्ध छ । र्याकमा राखिएको कुनै एक जुत्ताभित्र प्रायः चाबी राखिएकै हुन्छ । चाहे त्यो जुत्ता हप्तौँसम्म नधोएको होस्, अथवा वर्षौं पुरानो नै किन नहोस्, त्यहाँ चाबीले स्थान पाएकै हुन्छ । लाग्छ– सियो र धागोको जस्तै सम्बन्ध जुत्ता र चाबीको पनि छ ।
कहिलेकाहीँ अनौठा कुरा दिमागमा आउँछन् । यस्तो कि, जुत्ताभित्र चाबी राख्ने सायद पुरानो परम्परा अनि चलन हो । अनि हरेकले त्यो चलनलाई पछ्याउनुपर्छ । नभए किन प्रायःले जुत्ताभित्रै चाबी घुसाउँछौँ त…?
अरूको बारेमा त भन्न सकिन्न । तर विद्यार्थीहरू प्रायः जुत्ताभित्रै चाबी राख्छन् । एउटै कोठा सेयर गरेर बस्ने साथी होस् अथवा दाजुभाइ दिबीहिनी नै किन नहोऊन्, उनीहरू सजिलोका लागि चाबी जुत्ताभित्र राख्ने गर्छन् ।
उनीहरूमध्ये अगाडि बाहिर निस्कने साथीले चाबी जुत्ताभित्र राख है… भन्ने गरेको धेरै पटक सुनेकी छु मैले ।
हामी साथीहरू एकैठाउँ हुँदा अर्को साथीले फोन गरेर चाबी कता छ भन्ने प्रश्नमा उत्तर त्यही– बाहिर हेर् न… कुन चैँ जुत्ताभित्र छ…
कहिलेकाहीँ घरबाट काठमाडौँ आउँदै छु भनेर भाइ या बहिनीले कल गर्छन् । मेरो जवाफ हुन्छ– त्यही पुरानो जुत्ताभित्र चाबी राखेको हुन्छु । म कलेजबाट कतिबेला फर्किन्छु, बस्दै गर्नू ।
कतिपयलाई सुन्दा अचम्म लाग्न सक्छ । तर वास्तविकता हो यो । म आफैँ पनि प्रायः जुत्ताभित्रै चाबी राखेर निस्किने गरेकी छु ।
पहिला लाग्थ्यो म मात्र हो कि… ? तर पछि अन्य साथीले पनि जुत्ताभित्र चाबी राख्ने गरेको थाहा पाएपछि खासै अचम्म लागेन ।
हुन त कोठाको होस् या घरको सुरक्षाको हिसाबले नै हामी चाबी लगाउने गर्छौँ । जुत्तामा राखिएको चाबीले घरको सुरक्षाको दाँजोमा चोरी हुने सम्भावना धेरै हुन्छ ।
भनाइ नै छ नि– आफ्नो थैलीको मुख बलियो बाँध्नू, अरुलाई दोष नलगाउनू ।