- गार्डेन राई/काठमाडौँ
खुम्बू पासाङ ल्हामु गाउँपालिका खुम्जुङ सोलुखुम्बूका दुई महिला– निमा डोमा शेर्पा र फुर्वादिकी शेर्पाले ‘हामी पनि गर्न सक्छौँ’ अभियानका साथ सगरमाथाको सफल आरोहण गरेका छन् ।
विशेष गरी एकल महिलालाई प्रोत्साहन गर्ने उद्देश्यले यो अभियानको सुरुआत गरिएको निमा डोमा शेर्पा बताउँछिन् ।
शेर्पा समुदायका मानिस सानै उमेरदेखि ट्रेकिङ व्यवसायसँग चिरपरिचित हुन्छन् । हिमालसँग सम्बन्धित काम अर्थात कुक, भरिया, टुरिस्ट गाइड, हिमाल आरोहण शेर्पा समुदायका लागि खासै नौलो कुरा होइन ।
महिला होस् या पुरुष, ट्रेकिङ व्यवसाय नगरेका र हिमाल नचढ्ने शेर्पाहरू विरलै पाउन सकिन्छ ।
निमा डोमा शेर्पा पनि सानै उमेरदेखि ट्रेकिङ व्यवसायमा आबद्ध थिइन् । ट्रेकिङ गर्दागर्दै छिरिङ ओङ्छु शेर्पासँग सन् २००५ मा विवाह भयो । त्यसपश्चात उनी घरगृहस्थी गर्थिन् भने श्रीमान ट्रेकिङमा जान्थे ।
उनका श्रीमान गाइड बनेर देशी तथा विदेशी आरोहीहरूलाई सहायता दिने काम गर्थे । यसैक्रममा सन् २०१४ मा सगरमाथा आरोहीहरूको खाना बनाउन सगरमाथा चढ्ने क्रममा क्याम टुमा पुगेका थिए ।
त्यो दिन मौसममा खराबी आएर हिमपहिरो जान सुरु भयो । हिमपहिरोमा परेर छिरिङ लगायत करिब १८ जनाको मृत्यु भयो ।
सगरमाथा आरोहणका क्रममा हिमपहिरोमा परेर आरोहीहरूको मृत्यु भनेर राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरुमा समाचारहरू आए । उक्त समाचार निमा डोमाको कानमा पनि आइपुग्यो ।
आफ्ना श्रीमानको मृत्युको समाचारले उनी भावविह्वल बनिन् । समाचार न हो– केही दिनसम्म लगातार आए पनि सहायता भने खासै पाइनन् निमाले ।
श्रीमानको मृत्युपछि एक्लो बनेकी निमामा छोराछोरी कसरी हुर्काउने भन्ने चिन्ता थियो भने समाजले एकल महिलालाई हेर्ने दृष्टिकोणले अर्कोपट्टि चिन्ता थपिदियो ।
श्रीमानको मृत्युको शोकमा डुबेकी निमा समाजको कुदृष्टिले अझ दुखित् थिइन् । उनले सोचिन्– कति दिन समाजको डरमा बस्ने ? अब मैले पनि केही गर्नुपर्छ भन्ने सोचका साथ उनले आफू र आफ्नो मन बलियो बनाउन सुरु गरिन् ।
आफ्ना लागि प्रोत्साहन आफैँ बन्न थालिन् । त्यसपश्चात फुर्वादिकी शेर्पासँग मिलेर सन् २०१९ मा ‘हामी पनि गर्न सक्छौँ’ अभियान सुरु गरिन् ।
फुर्वादिकी शेर्पाका श्रीमान पनि सगरमाथा चढ्ने बाटो बनाउने क्रममा खर्पसमा भासिएर बितेका थिए ।
हिमालले जीवनसाथी र आफ्नो खुसी खोसेपछि निमा र फुर्वादिकीले हिमालबाटै पुनः खुसी फिर्ता गर्ने अठोट गरे । आफूजस्तै हिमालमा जीवनसाथी गुमाएका अन्य एकल महिलालाई समेत साहस तथा ऊर्जा दिने उद्देश्यका साथ ‘हामी पनि गर्न सक्छौँ’ अभियानलाई निरन्तरता दिए ।
अभियान सुरु गर्दैगर्दा सकारात्मक र नकारात्मक कुराहरू हिमपहिरोजस्तै नरोकिने तवरले उत्तिकै आइरहेकै थिए । तर जति नै ठूलो हिमपहिरो आए पनि अभियानलाई कसैले रोक्न सकेन ।
हामी पनि गर्न सक्छौँ अभियान २०१९ मा सुरु भए पनि सन् २०१८ देखि नै निमाले हिमाल आरोहण गरेकी थिइन् । २०१८ को नोभेम्बर १२ मा ६५८४ मिटर उचाइको चुलु इस्ट पिकको सफल आरोहण गरिन् उनले ।
यसैगरी २०१८ को डिसेम्बर १० मा ६१८९ मिटर उचाइको इजल्यान्ड पिकको पनि आरोहण गरिन् । यस्तै ६११९ मिटर उचाइको लबुचे पिक २०१९ को अप्रिल २१ मा सफल आरोहण गरिन् ।
एकपछि अर्को शिखरको सफल आरोहणपछि सन् २०१९ मे २३ बिहीबारका दिन सर्वोच्च शिखर सगरमाथाको समेत सफल आरोहण गरिन् ।
सगरमाथा आरोहण गर्ने क्रममा बाटोमा आफ्ना स्वर्गीय श्रीमान र बुबालाई सम्झेर निकैबेर रोएकी थिएन रे निमा ।
‘बुबा पनि हिमालमै काम गर्नुहुन्थ्यो । ट्रेकिङबाट घर फर्किंदा झोलाभरि चकलेट ल्याएर हामी छोरोछोरी सबैलाई बाँड्नुहुन्थ्यो, हामी खुब खुसी हुन्थ्यौँ । बुबा कहिले घर आउनुहुन्छ अनि चकलेट खान पाइन्छ भन्थ्यौँ,’ निमा भन्छिन्, ‘म आफैँ आरोही बनेर हिमाल जाने क्रममा थाहा पाएँ– कति पीडा हुन्छ भनेर‘ बुबाले कति दुःख गरेर चकलेट ल्याइदिएका रहेछन् भन्ने सम्झेर रोएँ ।’
बिहान ५ बजेर २५ मिनेटमा सगरमाथाको चुचुरोमा पुग्दा आफूले सगरमाथा आरोहण गरेको भन्ने विश्वास नै भएन उनलाई । चुचुरोमा पुग्दा हर्ष अनि पीडाको आँसु झरेको निमा बताउँछिन् ।
शेर्पा भेषमा सजिएर आफ्ना स्वर्गीय श्रीमानलाई मनमनै सम्झेर श्रद्धाञ्जली अर्पण गर्दै श्रीमानको आत्मा जहाँ रहे पनि खुसी साथै शान्तिको कामना गरिन् ।
निमाले सगरमाथा आरोहणपछि २०१९ डिसेम्बर ३ मा ६८१४ मिटर उचाइको आमाडब्लम हिमालको सफल आरोहण गरिन् ।
हिमाल आरोहण गर्नु भनेको एक साहसिक कार्य भएकाले हिमाल चढ्न तालिम प्राप्त भए पनि शारीरिक र मानसिक रुपमा पनि बलियो हुनुपर्ने निमा सुनाउँछिन् । उनी भन्छिन्, ‘तालिम लिएका कारण खासै गाह्रो त भएन । तर डर भने लाग्दोरहेछ ।’
‘हामी पनि गर्न सक्छौँ’ अभियानको मूल उद्देश्य विशेष गरी एकल महिलालाई प्रोत्साहन गर्नुका साथै अन्य महिलाहरूको सहारा बन्नु हो ।
जति नै शिक्षित व्यक्ति परिवार अनि समाज भए पनि महिलालाई फरक तरिकाले मूल्याङ्कन गरिरहेको निमाको अनुभव छ । अझ विवाहित महिलालाई घरको चुलोचौकामा मात्र सीमित गराइएको उनी बताउँछिन् ।
हिमाल आरोहणका लागि देश तथा विदेशमा रहेका शेर्पा समुदायबाट सहयोग प्राप्त भएका कारण पनि सगरमाथालगायत अन्य हिमाल आरोहण गर्न सहज भएको निमा बताउँछिन् ।
‘म आफैँ आँटिलो भएर मात्र सगरमाथा आरोहण गर्न सम्भव थिएन । घरदैलो अभियानबाट पैसा सङ्कलन भयो,’ उनी भन्छिन्, ‘मलाई गाइड गर्ने आङछिरीङ लामाप्रति आभारी छु । साथै अमेरिकास्थित ‘जुनिपर फन्ड’ लाई विशेष धन्यवाद ।’
शोकलाई शक्तिमा बदल्दै सुरु गरेको अभियानले केही हदसम्म सफलता मिलेको निमाको भनाइ छ । केही गर्न सकिन्छ भन्ने उमेरमा बितेका श्रीमानको सपना साकार पार्न समाजको कुरालाई शक्तिको स्वरुप लिएर अगाडि बढेको उनी बताउँछिन् ।
निमा उमेरले बल्ल ३६ वर्ष पुगिन् । उनी ३० वर्षको हुँदा श्रीमानको मृत्यु भयो । आजसम्म आइपुग्दा परिवार अनि समाजको पेलानले आफूलाई अझ बलियो बनाएको बताउँछिन् ।
‘नपत्याउने खोलाले बगाउँछ’ भन्ने उखानजस्तै अभियान सुरुआतको क्रममा नपत्याएकाहरूलाई सगरमाथाको सफल आरोहण गरेर उदाहरण बन्न सफल भएका छन् निमा डोमा र फुर्वादिकी शेर्पा ।
निमा भन्छिन्, ‘हिमाल चढ्न धेरै बजेट चाहिन्छ, स्पोन्सरहरू पाएमा अझै हिमालहरू आरोहण गर्ने रहर छ । हाम्रो अभियान पनि विशेषतः सगरमाथा आरोहण गर्ने थियो । तर अझै हामी यस अभियानलाई निरन्तरता भने दिने छौँ ।’
अभियान चलाउनेमध्येकै फुर्वादिकीको कथा अर्को अङ्कमा । प्रतीक्षा गर्नुहोस्…
Source: Koshionline