गार्डेन राई/काठमाडौँ ।
साइनोले छ्यामा र छोरी ।
तर हामीबिच मित्रताको साइनो छ । त्यसैले एकअर्कालाई नामले नै बोलाउने गर्छौँ ।
अन्य मिल्ने साथिहरुमध्ये हामी एक अर्काको नजिकको मिल्ने साथि ।
हामीलाई अलिकति पैसा भएपछि कहिँकतै घुम्न जानुपरेमा योजना बनाइरहन पर्दैन । दुईजना भइसकेपछि हामीलाई न ग्रुप चाहिन्छ, न टन्न पैसा नै ।
एउटाले यो ठाउँ जाँउ है भन्नसाथ दुवैजनाको खुट्टा खुशीले एकैसाथ बुरुक्क हुन्छन । अनि मन त्यसै फुरुङ्ग हुन्छ ।
हामी दुवैजना मेकअपको सौखिन छैनौँ ।
कहिलेकाँही कपाल कोर्ने काइयो समेत हुन्न । यत्तिकै हातले कपाल मिलाएर कति ठाउँ पुग्न भ्याउँछौँ ।
झोलाभित्र दुई सेट लुगा बोकेर नाइटमा होस की डे मा …
गाडिको टिकट लिएर टाप कस्छौँ ।
लामोदुरीको बाटोमा दुवैजनालाई गाडि लाग्ने । तर भमिटले हाम्रो यात्रा भने रोकिदैन । हाम्रो यात्रा तब रोकिन्छ जब दुवैको अकाउन्टमा जेरो व्यालेन्स हुन्छ । पैसा भइन्जेल यो…त्यो खाउँ । यता उता सबैतीर जाउ अनि पैसा सकिएपछि चुपचाप ।
काठमाडौँका कतिपय ठाउँ त एकैदिनमा घुमेका छौँ । घुमेर त्यहाँको बारेमा जान्नभन्दा अलि राम्रो ठाउँ देख्नसाथ पोज दिएर फोटो खिच्नमा व्यस्त हुन्छौँ ।
गाडिभित्र होस या बाटोमा, ग्रुपमा चार÷पाँच जनाको हाँसोलाई जित्ने दुईजनाको हाँसो हुन्छ ।
हाँसो सुनेर मान्छेहरु फर्केर हेर्छन । तरपनि हाम्रो हाँसो रोकिन्न ।
यसरी दुईजना मिलेर विभिन्न ठाउँ जाने क्रममा हामीलाई आउने प्रश्नहरु भनौँ मानिसका जिज्ञासाहरु पनि धेरै छन ।
दुईजना मात्र ?
किन ग्रुपमा नआएको ?
त्यो पनि छोरी मान्छे…डर लाग्दैन ?
पहिला यस्तो प्रश्न आउँदा हाँस्दै प्रश्नानुसारको उत्तर मात्र दिन्थ्यौँ । तर प्राय यस्तो प्रश्न धेरैले सोधेपछि अचम्म लाग्न थाल्यो । किन प्राय यस्तो प्रश्न सोध्दारहेछन भनेर हामीले पनि प्रतिप्रश्न गर्न थाल्यौँ ।
उनीहरु भन्छन,
हैन, घुम्नजाने पछि त कि ग्रुपमा । कि बोइफ्रेन्ड र गलफ्रेन्ड मात्र हिँडछ्न ।
तिमीहरु त दुवैजना केटी मान्छे । फेरि घुम्नका लागि हिँडेका छौ ।
कतै लेजवीयन त होइन नि…
हुन पनि हो । कतिपय पारिवारीक भ्रमण गरिरहेका हुन्छन । कतिपय अफिसबाट अनि अनि कतिपय शैक्षिक भ्रमणमा गइरहेका हुन्छन । त्यसकारणले गर्दा पनि यस्तो प्रश्न आउनु स्वभाविकै हो जस्तो लाग्छ ।
तर यस्ता प्रश्न सोध्नेलाई हामी प्रश्नमाथि प्रश्न थुपार्छाैँ । कतिलाई हाँसेर टार्छाैँ भने कतिलाई त हो पनि भन्छौँ ।
हाम्रो उत्तर सुनेर कोही गल्लल हाँस्छन त होकी छक्क पर्छन ।
तर पनि समाजले हेर्ने अनि बुझने शैलीदेखि भने अचम्म लाग्ने रहेछ ।
केटाकेटी मात्र हिँड्दा पनि जिज्ञासा नै हुने अनि अनि केटीकेटी हिँड्दा त झन कति धेरै जिज्ञासाहरु…..